Latest Post

पथरीशनिश्चरे । टाइब्रेकरमा सिराहाको सलहेस फुटबल क्लबलाई ४–२ गोलले हराउँदै काठमाडौंको बिग्रेड ब्वाइज मोरङको पथरीशनिश्चरेमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण इन्ट्रा पथरीशनिश्चरे गोल्डकप २०८१ को सेमिफाइनमा प्रवेश गरेको छ ।
निर्धारित ८० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि रेफ्रि श्याम दनुवारले सिंधै खेलको अन्तिम निर्णय टाइब्रेकरबाट लिएका हुन् । टाइब्रेकरमा सलहेसका शिशिर लेखी र उमेश कार्कीले मैदान बाहिर बल प्रहार गरेपछि बिग्रेड ब्वाइजको सेमिफाइनल यात्रा तय भएको थियो । सलहेसका अमन र लामा र मिलन राईले गोल गरे भने बिग्रेड ब्वाइजका दिवाकर चौधरी,गौरव महर्जन,इस्कस लिम्बू र आशिष राईले गोल गरे ।
यस अघि खेलको २१ ओैं मिनेटमा बिग्रेड ब्वाइजका दिवाकर चौधरीले सलहेसका खेलाडीलाई फल्ड गरेपछि सलहेसले फ्रिकिकको अवसर पाएको थियो । मिलन राईले प्रहार गरेको फ्रिकिक रिवाउण्ड हुँदै मैदानमा झरेको बेला उक्त बललाई सलहेसका उमेश कार्कीले कुनै गल्ती नगरीकन चालि चुमाउँदै खेलमा अग्रता दिलाए । ६५ ओैं मिनेटमा बल लिएर डिबक्समा पुगेका बिग्रेडका भुवन बस्नेतलाई सलहेसका इम्मानुएल वटेलले ट्याकल गरे । बिग्रेडले पेनाल्टी प्रहारको अवसर पायो । पेनाल्टीलाई आशिष राईले सदुपयोग गर्दै सुन्दर गोल गरी बिग्रेड ब्वाइजलाई खेलमा फर्काए ।
आशिषको बराबरी गोलले खेलमा फर्किएको बिग्रेडले लगातार राम्रा अवसर पाएपनि बललाई जालिको दिशा दिन सकेन । खेलको २३ ओैं मिनेटमा सलहेसका फागुराम चौधरीले डिबक्स भित्रबाट हेडिङ गरेको बल बिग्रेडका गोलरक्षक मनोज तामाङले बचाए ।
मङ्गलबारको खेलमा बिग्रेड ब्वाइजका आशिष राई म्यान अफ द म्याच घोषित हुँदै ५ हजार नगद सहित ट्रफिबाट पुरस्कृत भए ।
बुधबार पहिलो सेमिफाइनल खेल आयोजक पथरी ११ फुटबल क्लब र सङ्कटा फुटबल क्लब काठमाडौं बिच हुनेछ ।