हरि कोइराला । ठूलो भूगोलमा पशुपालन गर्ने किसानको सघन बसोवास रहेको मोरङको पथरीशनिश्चरे नगरपालिकाले वडा नं.३ को पिपल चौकमा नगर पशु अस्पताल स्थापना गरेपनि उपचारका लागि चौपाय लान ल्याउन किसानलाई समस्या भएको छ ।
अस्पतालमा जनशक्ति र औषधिसँगै प्रयोगशाला पनि छ । तर, पशु एम्बुलेन्स उपलब्ध नहुँदा आफ्नै नगरको पशु अस्पताल किसानलाई ‘लङ्कामा सुन छ, कान मेरो बुच्चो’ झैं भएको छ । नगरको वडा नं. १ बाहेक नौ वटै वडा कृषि तथा पशुपालन हुने क्षेत्र हुने । तर, अस्पताल ३ नं. वडाको बक्राहा खोला किनारमा बन्यो । पशुचौपाय पु¥याउनै समस्या । वडा नं.६ को केचनाका महेन्द्र बस्नेतले भन्नुभयो –‘ अस्पातालको सेवा राम्रो छ । तर,हामीलाई टाढा भयो । मान्छेलाई जस्तो साइकल, सिटी सफारीमा पशुचौपायलाई लान सकिन्न । नगरले पशु एम्बुलेन्सको ब्यबस्था नगरेसम्म बरिपरीका किसान बाहेक अरुले सेवा लिन सक्दैनन ।
यता वडा नं.३ का किसानले भने अस्पताल सञ्चालनमा आएपछि पशु उपचारमा सहज भएको बताएका छन् । घर नजिकैको अस्पतालबाट निःशुल्क सेवा पाउन थालेपछि पशुचौपायको उपचारमा हुने अतिरिक्त खर्च बचत भएको छ । अस्पतालमा किसानले आफ्ना पशुचौपायाका लागि आवश्यक औषधि निःशुल्क लैजाने गरेका छन् । वडा नम्बर ३ का किसान टेकनाथ खतिवडाले अस्पताल गाउँमै आएपछि पछिल्लो तीन वर्षदेखि पशु उपचारमा अतिरिक्त खर्च गर्नु नपरेको बताउनुभयो ।
अस्पतालमा एक जना पशु चिकित्सक दुई जना पशु प्राविधिक र सहायक कर्मचारी कार्यरत छन्। अस्पतालले किसानलाई पशु उपचारसँगै आवश्यक सिफारिस तथा परामर्शसमेत दिने गरेको छ ।किसानले बोका, राँगा र बहर बन्ध्याकरणका लागि पशु अस्पताल नै पु¥याउने गरेका छन् । अस्पतालका प्राविधिक जनक चौधरीले किसानको माग अनुसार मौसमी तथा बेमौसमी घाँसका बीउ र माछाका भुरा वितरण गर्दै आएको बताउनु भयो । गत आर्थिक वर्षमा मात्रै तीन सय वटा सामुदायिक कुकुरको बन्ध्याकरण समेत निःशुल्क गरिएको प्राविधिक चौधरीले जानकारी दिनुभयो । चौधरीले भन्नुभयो– पशु उपचार, कृत्रिम गर्भाधानसँगै किसानले पालेका कुकुर तथा बिरालोलाई रेबिज विरुद्धको खोप समेत निःशुल्क दिने गरिएको छ । चौधरीका अनुसार अस्पतालमा आफ्नै प्रयोगशाला पनि छ। प्रयोगशालामा गोबर तथा धुनेलोको परीक्षण हुने गरेको छ ।
२०७९ मङ्सिरमा इन्दिरा कोइराला र ताराप्रसाद कोइराला (आमाछोरा)ले संयुक्त रूपमा ३ कट्ठा १२ धुर जग्गा उपलब्ध गराएपछि नगरपालिकाले सोही स्थानमा पशु अस्पताल निर्माण गरेको हो ।
अस्पतालको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२÷८३ मा नगर क्षेत्रका ९ हजार ६५८ पशुचौपायको निःशुल्क उपचार गरिएको छ । स्थानीय मन्जिल भण्डारीले गाउँमै पशु अस्पताल स्थापना भएपछि वरिपरीका किसानलाई पशुचौपायको उपचारमा ठूलो सहयोग पुगेको बताउनुभयो । उहाँले टाढाका किसानलाई विरामी पशुचौपाय ल्याउन एम्बुलेन्स आबश्यक रहेको बताउनु भयो ।






