हरि कोइराला
उर्लाबारी । मोरङको लेटाङ–राजारानी – साग्मा डाँडासडक अन्तर्गत लेटाङ १ को राजारानीसँग मदन भण्डारी राजमार्ग जोड्ने सडक असोज मसान्तसम्ममा निर्माण सम्पन्न हुने भएको छ ।
मदन भण्डारी राजमार्गको लेटाङ २ किरात चौक देखि लोखरासम्म दुई किलोमिटर सडक कालापत्रे भइसकेको छ ,भने बाँकी चुरेक्षेत्रमा धमाधम काम भइरहेको छ । २०७९ सालमा तत्कालीन सरकारले एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक योजना कार्यक्रम अन्तर्गत यो सडक २०७९ बैशाख १९ गते सडक डिभिजन कार्यालय विराटनगरले ठेक्का लगाएको थियो । सडक डिभिजन कार्यालय विराटनगरका डिभिजनल इन्जिनियर नारायणप्रसाद निहुरेका अनुसार ५ दशमलव ७ किलोमिटर सडक ११ करोड ३२ लाख २ हजार ५८१ मा ठेक्का लागेको हो । पहिलेको सम्झौता अनुसार २०८१ चैत ३० गते सडक निर्माण गरिसक्नुपर्ने थियो ।तर,निर्माण कम्पनी कालिका÷मेदान्सी जेभी काठमाडौंले निर्धारित समयमा निर्माणको काम सम्पन्न गर्न सकेन । सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख इन्जिनियर निहुरेले भन्नुभयो –‘हाल तीब्र गतिमा काम भइरहेको छ । आयोजनाको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ ।भने वित्तीय प्रगति साडे ३० प्रतिशत भएको छ । यो सडक दुई किलोमिटर उत्तर देखि चुरे क्षेत्र हुँदै महाभारत श्रृङखलासम्म पुग्छ ।
कार्यालय प्रमुख निहुरेका अनुसार सडकको कालोपत्रे चौडाइ ७ मिटर तथा दुवैतर्फको शोल्डरसहित कुल चौडाइ १० मिटर रहनेछ । साथै रिटेनिङ वाल, ब्रेस्ट वाल, नाली निर्माण, सब–बेस, बेस र अस्फाल्ट कार्यका साथै डेलिनेटर पोस्ट, क्र्यास ब्यारियर र थर्मोप्लास्टिक रोड मार्किङ जस्ता सडक सुरक्षा सम्बन्धी संरचना पनि निर्माण गरिनेछ।
लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले ठेक्का लागेर लामो समय रोकिएको सडक हाल काम सुरु भएकोले केही आशा जागेको बताउनुभयो । नगरपालिकाले राजारानी क्षेत्रलाई पर्यटकीय गन्तब्यका रुपमा विकसित गरिरहेकोले उक्त क्षेत्रसम्म पुग्ने सडक निर्धारित समयमा नबन्दा नगरपालिकाले दोष खेप्नु परेको नगरप्रमुख लावतीको भनाई छ । उहाँका अनुसार नगरपालिकाले राजारानी क्षेत्रमा राजारानी पोखरी,राजकुमारी पोखरी, सुनाखरी अध्ययन केन्द्र ,अन्तरधार्मिक शान्तिपार्क लगायतका गन्तब्यहरू निर्माण गरिसकेको छ । ति क्षेत्रमा आन्तरिक पर्यटकहरूको आकर्षण रहेको छ । दैनिक चारसय मानिसहरू घुम्न आइरहनु भएको छ । तर,सुरक्षित सडक नहुँदा त्यसको दोष नगरले लिनु परिरहेको छ ।उहाँले सडक निर्माणले पर्यटन विकासमा प्रगतिको अहिले आशा पलाएको बताउनुभयो ।






