Latest Post

विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सिँचाइमा लगानी गरेर मात्र नपुग्ने बताउँदै कृषि उत्पादन र किसानको आम्दानी बढ्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । सुनसरी–मोरङ सिँचाइ आयोजनाको स्थलगत निरीक्षणपछि स्थानीयवासी र जल उपभोक्ताका गुनासा सुनेपछि उहाँले यस्तो बताउनुभएको हो ।
कृषि क्षेत्रमा उत्पादन र रोजगारी बढाउन सके ग्रामीण क्षेत्रबाट हुने जनसङ्ख्या पलायन न्यूनीकरण गर्न सकिने उल्लेख गर्दै मन्त्री श्रेष्ठले सिँचाइलाई केवल नहर निर्माणको विषयका रूपमा मात्र नहेर्न आग्रह गर्नुभयो ।
मन्त्री श्रेष्ठले सुनसरी–मोरङ सिँचाइ योजनाले मात्रै वार्षिक १४ अर्ब रुपियाँभन्दा बढी मूल्य बराबरको कृषि उत्पादनमा योगदान पु¥याउँदै आएको बताउँनुहुँदै यसले सिँचाइ पूर्वाधारमा गरिएको लगानीको प्रतिफल कृषि क्षेत्रमा देखिएको पुष्टि गर्ने उल्लेख गर्नुभयो । उहाँले सिँचाइ प्रणालीलाई जल उपभोक्तामैत्री, दिगो र स्थानीयवासीको अधिकार सुनिश्चित गर्ने किसिमको बनाउनुपर्नेमा जोड दिनुभयो। सिँचाइ पूर्वाधार विकास गर्दा प्रकृतिमा आधारित समाधानका उपायलाई समेत प्राथमिकता दिनुपर्ने उहाँको धारणा छ ।
सिँचाइ तथा ऊर्जा आयोजनामा देखिएको बालुवाको समस्या दीर्घकालीन चुनौतीका रूपमा रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भन्नुुभयो –‘ नदीमा बगेर आउने बालुवाको व्यवस्थापन र त्यसबाट आयोजनामा पर्ने असरलाई कम गर्ने उपायलाई आयोजनाको डिजाइन तथा सञ्चालनमै समेटेर अघि बढ्नुपर्छ ।’।
सुनसरी–मोरङ सिँचाइ नेपालको महत्वपूर्ण र ठूलो सिँचाइ योजना हो । सुनसरी र मोरङको करिब ६८ हजार हेक्टर जमीनमा हिउद बर्षायाममा सिंचाई यो नहरको मुल नहर कोशीको इन्टेक देखि केरौन सम्म ५२ किलो मिटर लामो छ । भारत सरकारको सहयोगमा सन् १९६४ देखि १९७५ बीच निर्माण भएको सिंचाइ आयोजनाका अधिकांश संरचना जीर्ण भइसकेका छन् ।
विशेषगरी चतरामा कोशी नदीले ठूलो परिमाणमा गेग्रान(बालुजा गिट्टी) बगाएर ल्याउने र नदीको धारमा आएको परिवर्तनका कारण सुनसरी–मोरङ सिँचाइ प्रणालीको इन्टेक क्षेत्रमा पानीको उपलब्धता प्रभावित हुँदै आएको छ । चतरा पुल निर्माणपछि नदीको मूल प्रवाह पश्चिमतर्फ सरेपछि पूर्व तर्फको इन्टेकमा पानीको सतह घटेको सुनसरी मोरङ सिंचाइ योजना चतरा मूल नहर उपभोक्ता समितिका सचिव खङ्गलाल साहले बताउनुभयो । सुक्खायाममा इन्टेकमा उपलब्ध पानीको मात्रा करिब १० देखि १५ घनमिटर प्रतिसेकेन्डमा सीमित हुने अवस्था रहेको छ । साहले ड्रेजर (बालुवा ,माटो निकाल्ने मेसिन) ल्याएर पानी भर्न सके समस्याको समाधान हुन सक्ने बताउनु भयो ।
यसै सन्दर्भमा मन्त्री श्रेष्ठले तत्कालीन र दीर्घकालीन समाधानलाई एउटै योजनामा जोडेर अघि बढाउनुपर्ने बताउनुभयो। जलस्रोत तथा सिँचाइ विभागले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपाय समेटिएको एकीकृत कार्ययोजना तयार गरी स्वीकृत गराउनुपर्ने उहाँको भनाइ छ ।
कोशी नदीले वर्सेनि ठूलो परिमाणमा गेग्रान बगाएर ल्याउने र नदीले आफ्नो बहाव परिवर्तन गरिरहने अवस्थाका कारण सुनसरी–मोरङ सिँचाइ आयोजनाका उपभोक्ताहरू प्रभावित हुँदै आएका छने । सुनसरी मोरङ सिंचाई आयोजनाका आयोजना प्रमुख बीरसिंह धामीका अनुसार मन्त्री र सांसद सहितको टोलीले शनिवार बिहान ८बजे देखि साँझ साडे ५ बजेसम्म मूल नहरको इन्टेक देखि स्थलगत निरीक्षण गर्नु भएको हो ।