काठमाडौं । नेपाली कांग्रेसका नेता, समाजसेवी तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनीलकुमार शर्माले गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ ।
फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाको सभापतित्वमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले डा. शर्मालाई फाउन्डेसनको नेतृत्व हस्तान्तरण गर्नुभएको हो ।
जिम्मेवारी सम्हाल्दै डा. शर्माले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालासँग आफ्नो राजनीतिक तथा व्यावसायिक जीवनको गहिरो सम्बन्ध रहेको स्मरण गर्नुभयो । उहाँले राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि प्रजातन्त्र पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने अभियानमा आफू सुजाता कोइरालासँगै जोडिएको बताउनुभयो ।
त्यतिबेला सुजाता कोइरालालाई भारत हुँदै अमेरिका तथा विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा पुर्याएर नेपालको प्रजातन्त्र पुनःस्थापनाका लागि समर्थन जुटाउने अभियानमा आफू सहभागी भएको उहाँले उल्लेख गर्नुभयो । नजरबन्दमा रहनुभएका गिरिजाप्रसाद कोइरालालाई कसरी बाहिर निकाल्ने भन्ने विषयमा समेत अन्तर्राष्ट्रिय तहमा पहल भएको उहाँले स्मरण गर्नुभयो ।
‘गिरिजाप्रसाद कोइराला नभएको भए अहिलेको सुनील शर्माको मेडिकल विरासत हुने थिएन,’ उहाँले भन्नुभयो, ‘गिरिजाबाबुले निःस्वार्थ रूपमा कुनै कुरा नमागी नोबेल मेडिकल कलेजको सम्बन्धन दिलाइदिनुभएको हो । त्यही सम्बन्धनका आधारमा आज काठमाडौं मेडिकल कलेजसम्म आइपुगिएको हो ।’
डा. शर्माले गिरिजाप्रसाद कोइरालालाई आफूले ‘अर्को बुबा’ का रूपमा लिने गरेको बताउनुभयो । बुबाको मुख हेर्ने दिन आफू जैविक बुबाबाट टीका लगाएर कार्यक्रममा आएको स्मरण गर्दै उहाँले आफ्नो व्यावसायिक यात्रामा गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।
‘मेरा बायोलोजिकल बुबा–आमाले मलाई यहाँसम्म ल्याउनुभयो । तर, व्यावसायिक संस्थालाई कर्पोरेट हाउसका रूपमा विकास गर्न गिरिजाबाबुले दिनुभएको आशीर्वादले पनि मलाई यहाँसम्म ल्यायो,’ उहाँले भन्नुभयो, ‘सुजाता दिदीले आज मलाई यो जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ । यसरी हेर्दा म पनि गिरिजाबाबुको अंशियार भएँ । उहाँको विरासत छोरीलाई र छोरीले मलाई हस्तान्तरण गर्नुभएको छ ।’
फाउन्डेसनको अध्यक्षको जिम्मेवारी पाएसँगै डा. शर्माले संस्थामार्फत सामाजिक सेवाका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने घोषणा गर्नुभयो । उहाँले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने देशभरका एक हजार बिरामीको मेजर अपरेसन यसै वर्ष निःशुल्क गरिने बताउनुभयो ।
उहाँका अनुसार काठमाडौं मेडिकल कलेजको दुवाकोट युनिट र विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट ती बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ । फाउन्डेसनमार्फत छात्रवृत्तिलगायत सामाजिक सेवाका कार्यक्रमसमेत सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
डा. शर्माले आफूले गिरिजाप्रसाद कोइरालाकै हातबाट हस्ताक्षर गरेर नेपाली कांग्रेसको साधारण सदस्यता लिएको क्षणसमेत स्मरण गर्नुभयो । पार्टी र सत्तामा अन्याय बढ्दै गए नयाँ पुस्ताले त्यसविरुद्ध विद्रोह गर्नुपर्ने गिरिजाप्रसादको विचारलाई आत्मसात् गर्दै कांग्रेसलाई नयाँ र उज्यालो दिशामा अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
गिरिजाप्रसाद कोइरालाको लोकतान्त्रिक विरासतलाई फाउन्डेसनका गतिविधिमार्फत निरन्तरता दिने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
फाउन्डेसनको नेतृत्व हस्तान्तरण गर्दै सुजाता कोइरालाले १६ वर्ष फाउन्डेसनको नेतृत्व गरेपछि आफू जिम्मेवारीबाट अलग हुन लागेको बताउनुभयो । उहाँले आफ्नो नेतृत्वको अवधिमा संस्थाबाट विभिन्न महत्वपूर्ण कार्यक्रम सञ्चालन भएको उल्लेख गर्दै संस्थालाई संरक्षण र विकास गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
डा. शर्मालाई फाउन्डेसनको नेतृत्व सुम्पिनुको मुख्य कारण गिरिजाप्रसाद कोइरालासँग उहाँको निकट सम्बन्ध र शान्ति प्रक्रियामा उहाँले पुर्याउनुभएको योगदान रहेको सुजाता कोइरालाले बताउनुभयो ।
‘उहाँ गिरिजाबाबुसँग अत्यन्तै नजिक हुनुहुन्थ्यो । शान्ति प्रक्रिया अघि बढाउन उहाँले ठूलो मद्दत गर्नुभएको थियो,’ उहाँले भन्नुभयो, ‘त्यतिबेला पत्रकार कृष्ण सेनमार्फत सुनीलजीले प्रचण्डजीलाई भेटाउनुभएको हो ।’
राजा ज्ञानेन्द्रले सत्ता लिएपछिका आफ्ना र डा. शर्माका अनुभवसमेत उहाँले कार्यक्रममा सुनाउनुभयो । फाउन्डेसनको जिम्मेवारी डा. शर्मालाई हस्तान्तरण गर्न पाउँदा आफूलाई गौरव लागेको उहाँले बताउनुभयो ।
‘सुनील शर्मालाई फाउन्डेसन हस्तान्तरण गर्दा मलाई एकदमै गौरव लागेको छ । उहाँका सामाजिक कामले पार्टीलाई पनि धेरै सहयोग पुगेको छ,’ सुजाता कोइरालाले भन्नुभयो ।
कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले गिरिजाप्रसाद कोइरालालाई आफ्नो पुस्तासहित कांग्रेसको नेतृत्वमा रहेका धेरै नेताको राजनीतिक गुरुका रूपमा स्मरण गर्नुभयो । २०४६ सालको पुस्ताका आफूहरू गिरिजाप्रसादकै राजनीतिक संस्कारबाट हुर्किएको उल्लेख गर्दै उहाँले गिरिजाप्रसादसँग आफ्नो पुस्ताको गहिरो राजनीतिक सम्बन्ध रहेको बताउनुभयो ।
‘हामी सबै गिरिजाप्रसादका कार्यकर्ता हौँ । जीवनका महत्वपूर्ण राजनीतिक पात्रका बारेमा चर्चा गर्दा गिरिजाप्रसादकै नाम आउँछ,’ उहाँले भन्नुभयो ।
सभापति थापाले सुजाता कोइरालासँग आफ्नो राजनीतिक यात्राका दुई महत्वपूर्ण घुम्ती जोडिएको पनि उल्लेख गर्नुभयो । विद्यार्थी राजनीतिमा आफूलाई अघि बढाउन सुजाता कोइरालाले भूमिका खेल्नुभएको र पछिल्लो समय आफूलाई पार्टीको नेतृत्वमा आउन पनि उहाँले भरोसा गर्नुभएको थापाले स्मरण गर्नुभयो ।
पार्टीमा पुस्तान्तरणको बहस भइरहेका बेला आफूले निर्माण गरेको फाउन्डेसनको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नु सुजाता कोइरालाको महत्वपूर्ण निर्णय भएको उहाँले बताउनुभयो ।
सभापति थापाले गिरिजाप्रसाद कोइरालाको योगदानलाई २०६२/६३ को जनआन्दोलनदेखि २०४८ सालमा प्रधानमन्त्री हुँदा सुरु गर्नुभएको आर्थिक नीतिसम्म जोडेर चर्चा गर्नुभयो । संसदीय व्यवस्थामा प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले मुलुकको अर्थतन्त्र अत्यन्तै कमजोर अवस्थामा रहेको समयमा गिरिजाप्रसादले आर्थिक क्षेत्रमा महत्वपूर्ण पहल गर्नुभएको स्मरण गर्नुभयो ।
कार्यक्रममा फाउन्डेसनको अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेले गिरिजाप्रसाद कोइरालाका विभिन्न राजनीतिक आयाम तथा अन्तर्राष्ट्रिय छविका विषयमा चर्चा गर्नुभयो । कार्यक्रममा फाउन्डेसनमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो ।






