Latest Post

मोरङ । नेपालका सांस्कृतिक शोधकर्ता, वरिष्ठ ज्योतिषाचार्य तथा सामाजिक अभियन्ता डा. कमलप्रसाद दाहाललाई ‘ग्लोबल पिस एम्बेसडर’ (विश्वशान्ति दूत) को उपाधिबाट सम्मान गरिएको छ । उहाँ सुनसरीको इटहरी निवासी हुनुहुन्छ ।
अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा महात्मा गान्धी जयन्तीका अवसरमा भारतको ओडिशास्थित एमजीजीपी इन्डिया फाउन्डेसनले विश्वशान्ति, भाइचारा तथा गान्धीवादी दर्शनको प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो । उहाँलाई फाउण्डेसनले सम्मानसँगै आजीवन विश्वशान्ति दूत नियुक्त गरेको छ । कार्यक्रमका प्रमुख अतिथि विश्व शान्ति प्रतिष्ठान तथा विश्व शान्तिदूत प्रतिष्ठानका संस्थापक डा.ऋषिकेश आचार्यले दाहाललाई सम्मान गर्नुभएको हो ।
फाउन्डेसनले डा. दाहाललाई ‘‘महात्मा गान्धी ग्लोबल पिस अवार्ड’बाट समेत सम्मानित गरेको छ। साथै, आगामी ‘गान्धी पिस इन्टरनेसनल अवार्ड तथा पिस समिट’मा उहाँलाई विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरिएको छ । सम्मानपछि डा. दाहालले मातापिताको आशीर्वाद तथा शुभचिन्तकहरूको साथप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले यो सम्मानलाई विश्वशान्ति र सनातन संस्कृतिको सन्देश प्रवाह गर्ने अवसरका रूपमा लिनुभएको बताउनुभएको छ ।