Latest Post

हरि कोइराला
उर्लाबारी । तराईका जिल्लामा गर्मी बढेसँगैे उत्तरीपूर्वी मोरङको रमितेमा गर्मी छल्न पुग्ने पर्यटक (घुमन्ते) को चहलपहल बढेको छ । महेन्द्र राजमार्ग अन्तर्गत मोरङको किसानचोकबाट १७ किलोमिटर उत्तरमा रहेको मिक्लाजुङ गाउँपालिका–१ को रमिते समुद्र सतहदेखि करिब एक हजार पाँच सय मिटर उचाइमा छ । तराईमा तापक्रम ३८÷४० डिग्री सेल्सियस पुग्दा रमितेमा भने १८÷१९ डिग्री आसपास हुने भएकाले गर्मी छल्न आन्तरिक पर्यटक रमिते पुग्न थालेका हुन् ।
दुई दिनको सरकारी बिदाले रमितेको पर्यटन र आर्थिक गतिविधि झनै चलायमान भएको छ । भदाै लागे पछि बढेको गर्मीले रमितेमा बास पाउनै मुस्किल हुन थालेको छ । होटल ब्यावसायिक भोला लुइटेलले भन्नुभयो ‘एक दिन बिदा हुँदा पाहुनाहरू शुक्रबार आएर शनिबार फर्किन्थे ।तर, अचेल शुक्रबार साँझ आएर आइतबार साँझ मात्र फर्कन्छन् । गर्मी मौसममा आन्तरिक तथा भारतीय पर्यटकको आगमन बढेपछि पछिल्लो दुई वर्ष यता मात्रै यहाँ करिब १८ वटा साना–ठूला होटल सञ्चालनमा आएका छन् । केही ठूला होटल निर्माणाधीन अवस्थामा छन् ।
स्थानीय होटल टेन्ट टाउनका सञ्चालक कुमारी लिम्बूले ‘गर्मीमा होटलका कोठा भरिएर पाहुनालाई बाहिर टेन्ट हालेर समेत सेवा दिँदै आएको बताउनु भयो । उहाँले २८ महिनाअघि डेढ करोड रुपियाँ लगानीमा सुरु गरेको होटलमा अहिले करिब तीन करोड लगानी भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार होटलले जाडोमा १८ र गर्मीमा २४ जना स्थानीयलाई रोजगारी दिइरहेको छ ।
पर्यटन व्यवसाय बढेसँगै रमितेबाट तराईतिर बसाइँ सर्ने क्रमसमेत रोकिँदै गएको मिक्लाजुङ १ का वडाध्यक्ष पर्वत राईले बताउनु भयो । राईले भन्नुभयो –‘सडक, बिजुली र आधारभूत स्वास्थ्य सेवा सुविधा गाउँमै पुगेपछि गाउँमै सम्भावना देखिन थालेको छ । उत्पादन गर्दा यहाँ नबिक्ने केही छैन् । पहिले आफूले उत्पादन गरेको फलफूल तरकारी र नगदे बालि बिक्री गर्न डोकामा हालेर नाम्लो लगाएर पाँच घण्टा हिडेरपछि बल्ल टाँडी बजार पुगिन्थ्यो । टाँडी पु¥याएर पनि ब्यापारीको मूल्यमा दिनुप¥थ्यो । अहिले किसान आफूले तोकेको मुल्यमा तरकारी फलफुल बिक्री गर्न पाएको बताउँछन् ।

स्थानीय सन्तोष राईले गाउँमा उत्पादन भएका कृषि तथा पशुजन्य वस्तु बिक्री हुन थालेपछि मानिसहरू गाउँ छाड्ने भन्दा आफ्नै ठाउँमा व्यवसाय गर्नतर्फ आकर्षित भएको बताउनुभयो । उहाँका अनुसार होटल र पर्यटकका कारण निगुरो, स्कुस, आलु, सुन्तला, कागती, नास्पाती, अम्बा, अलैँची,अम्लिसो, तेजपात र अदुवा लगायतका उत्पादनले गाउँमै बजार पाउन थालेका छन् । बजारमा निकालिसक्दा सकिन्छ । तराईको भन्दा केही सस्तो र ताजा हुने भएकोले रमिते पुगेका मानिसहरू कोशेली रुपमा तरकारी फलफूल लान्छन् । रमिते पुग्ने कोही रित्तै फर्किदैनन् ।
होटल व्यवसायी भोला लुईटेलले पर्यटन बढेसँगै स्थानीय उत्पादनको माग पनि बढेको बताउनुभयो । उहाँका अनुसार स्थानीय कुखुरा, हाँस, बंगुर र खसीको माग बढेको छ । होटलको संख्या थपिँदै जाँदा स्थानीय उत्पादनले बजार पाउन थालेको उहाँको भनाइ छ ।
रमितेमा सडक,विजुली पुगेको धेरै वर्ष भएको थियो । तर, जब होटल खुल्न थाले रमिते, आइतबारे र राजाटार नै गुल्जार बन्न थाले । सन्तोष राईले थप्नुभयो – थुप्रैले रोजगार पाएका छन् । ब्यापार बढेको छ । गाडीको आवत जावत बढेको छ । निगुरो,स्कुस, आलु ,फलफूल बेच्न तराई झर्नु परेको छैन् । उहाँले मानिसको आएको देख्दा पार्किङ स्थल, होटल र चौकहरू अहिले नै साँघुरा लाग्न थालेको बताउनु भयो ।
औषत नेपालीले बुझेको मोरङ जिल्ला भनेको धान फल्ने फाँटिला खेत, साल फूल्ने बन हो । तर, रमितेमा गुराँस फुल्छ । बाह्रैमास चिसो हुन्छ । त्यसैले रमिते अहिले नयाँ पर्यटकीय गन्तब्य बनिरहेको छ । गन्तब्य र उत्पादनसँगै गतिविधि पनि बढ्ने हो भने रमितेले धनकुटा र इलामका पर्यटकीय गन्तब्यलाई बिर्साउने स्थानीयको भनाई छ ।