Latest Post

हरि कोइराला,
बेलबारी । साझेदारी वनको अवधारण आएसँगै मोरङको दक्षिणी सीमाका नागरिक पनि वनको समानुपातिक पहुँचमा पुगेका छन् ।
विगतमा साझेदारी वनले उत्पादन गरेको काठ मध्ये ५० प्रतिशत स्थानीय उपभोक्तालाई र ५० प्रतिशत राज्यलाई वितरण गर्नु पर्ने ब्यवस्था थियो । तर कोशी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयले वन नियमावलि २०८० ल्याएसँगै उपभोक्ताले साझेदारी वनको उत्पादन मध्ये ७० प्रतिशत उपभोग गर्न पाउने ब्यवस्था गरेपछि वनसँग भौतिक रुपमा टाढा भएपनि दक्षिणी सीमाका नागरिक वनको पहुँचमा पुगेका हुन् ।
नियमावलिको परिच्छेद ६ (५२) १ मा सत्तरी प्रतिशत उत्पादन उपभोक्तालाई र तीन प्रतिशत सरकार निकायले लिलाम बिक्री गर्ने ब्यवस्था मिलाइएको छ । नयाँ नियमावलि आएपछि परम्परागत उपभोक्ता(जङ्गलबाट धेरै टाढा रहेका उपभोक्ता) को वनमा अझ पहुँच बिस्तार भएको छ । कोशी प्रदेशमा चार वटा साझेदारी वन छन् । ति चार वटै मोरङ जिल्लामा पर्छन् ।
शनिवार मोरङको बेलबारीमा कोशी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा.इन्द्रमणि सापकोटाले सामस्दायिक वनले समेट्न नसकेका उपभोक्तालाई साझेदारी वनले समेटिरहेको बताउनु भयो । बेलबारी –चिसाङ साझेदारी वन उपभोक्ता समूहको ११ औं साधारण सभाको उद्घाटन गर्दै सचिव सापकोटाले अझ सीमान्तकृत वर्गको आवश्यकतामा वनको पहुँच पुग्नु पर्ने बताउनु भयो । हामीकहाँ अथाहा काठ कुहिएर जान्छ , तर दक्षिण तर्फका उपभोक्ताले बाँसको खम्बा गाडेर घर बनाउनु पर्ने अवस्था छ , उहाँले कानून संसोधन गर्न आवश्यक भए सरकार तयार छ । तर, सहज आपुर्ति गरेर विपन्न वर्गले जाडोमा दाउरा बालेर बस्न पाउने र घर बनाउन पाउने वातावरण तय हुनुप¥यो ।
सचिव सापकोटाले काठ र दाउरामा मात्र नलाग्न आग्रह गर्दै जडिबुटी,परापर्यटन र जैविक विविधताको संरक्षणमा समेत ध्यान दिन निर्देशन दिनुभयो ।
बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेशप्रसाद गिरीले पछिल्ला पाँच वर्ष यता साझेदारी वनले वैज्ञानिक वन कार्यक्रम सञ्चालन नगरेको बताउँदै दक्षिण क्षेत्रका उपभोक्तालाई काठ वितरण गर्न भइरहेको कानूनी जटिलतालाई सरकारले कानून बनाएर निकास निकालिदिएको बताउनु भयो । यसअघि एउटा पालिकाबाट अर्को पालिकामा काठ लाँदा पालिकालाई राजश्व तिर्नु प¥थ्यो । जसले गर्दा काठको मूल्य दोब्बर हुने गरेको थियो ।

दक्षिणी मोरङको धनपालथान गाउँपालिका वडा नं. १ नोचाका सिकेन्द्र मण्डलले भन्नुभयो – मैले जङ्गल देखेको मात्र थिए । उपभोग गर्न पाएको थिइन । साझेदारी वनले उपभोक्ता बनाएपछि घरको न्युनतम मूल्यमा काठ किनेर झ्याल ढोका बनाउन पाएँ । भारतको सीमावर्ती गाउँ रङ्गेली ७ की मीना वहरदारले भन्नुभयो – वन जङ्गलमा हाम्रो पहुँच थिए । खोलाले हाङ्गाविगा बगाएर ल्याई खेलमा हालि दियो भने त्यही मात्र प्रयोग गर्न पाइन्थ्यो । साझेदारी वन गठन भएपछि काठ दाउरा उपभोग गर्न पाएका छौं ।
मोरङमा १३५ वटा सामूदायिक वन छन् । ति सबै उत्तरी मोरङमा छन् । पूर्व पश्चिम राजमार्ग दक्षिणमा १५ वटा सामूदायिक वन छन् । तर,ति सामूदायिक वनमा पनि दक्षिण क्षेत्रका उपभोक्ताहरूको पहुँच छैन् ।मोरङको विराटनगर –रङ्गेली–आमवारी सडक खण्ड भन्दा दक्षिण तर्फ जनसङ्ख्याको ठूलो हिस्सा बसोवास गर्छ ।उनीहरू वनको पहुँचमा छैनन् । त्यसैले दक्षिण तर्फका उपभोक्तालाई वनसँग जोड्न साझेदारी वनको अवधारणा ल्याइएको हो – डिभिजन वन कार्यालय मोरङका प्रमुख वन अधिकृत विक्रम अमात्यले बताउनु भयो ।