माेरङ। नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपमहासचिव जनार्दन भट्टराई नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ३ बाट खुला तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार बन्नुभएको छ।
श्रमिकलाई हरेक दलमा नीति निर्माणको तहसम्म पुर्याउनुपर्ने र वडा तहदेखि नै राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने मागसहित उहाँले नेपाली कांग्रेसभित्र एक दशकदेखि निरन्तर संघर्ष गर्दै आउनुभएको छ। तर, श्रमिक, पेशागत समूह र युवाको प्रतिनिधित्व सुनिश्चित गर्न लामो समयदेखि आवाज उठाउँदै आउनुभएका भट्टराई नै यसपटक भने खुला तर्फबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्नुभएको हो।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनसम्म भातृ तथा शुभेच्छुक संस्थाबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने व्यवस्था थियो। पार्टी सभापतिले भातृ तथा शुभेच्छुक संस्थाबाट प्रतिनिधि मनोनयन गर्ने उक्त व्यवस्थाका कारण हरेक महाधिवेशनमा विवाद हुने गरेको भन्दै श्रमिक, पेशागत समूह र युवाहरूले पार्टीभित्र लामो समयदेखि आवाज उठाउँदै आएका थिए।
प्रतिनिधि चयनमा ‘टीका लगाउने’ प्रवृत्तिले लोकतान्त्रिक पार्टीभित्रै प्रश्न उठेको भन्दै विशेष महाधिवेशनले श्रमिक, पेशागत समूह, युवा तथा प्रजातन्त्र सेनानीलाई वडा तहबाटै प्रतिनिधित्व गराउने व्यवस्था गरेको थियो। यही व्यवस्थाका लागि संघर्ष गर्नुभएका ट्रेड युनियनकर्मी भट्टराई भने अहिले खुला तर्फबाट प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा पुग्नुभएको छ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको जिल्ला उपाध्यक्ष हुँदै २०४७ सालमा ट्रेड युनियन अभियान सुरु गर्नुभएका भट्टराई सोही वर्ष कर्मचारी संघ दाङको उपाध्यक्ष बन्नुभएको थियो। २०५० सालमा नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौं जिल्ला सदस्य बन्नुभएका उहाँ त्यसपछि निरन्तर नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको नेतृत्वमा रहनुभयो।
कर्मचारी संघमा केन्द्रीय सदस्य, सचिव, महासचिव र वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै २०६५ सालदेखि २०८२ सालसम्म उहाँ अध्यक्ष रहनुभयो। नेपाल सार्वजनिक सेवा कर्मचारी संघको अध्यक्षका रूपमा ११ वर्ष जिम्मेवारी सम्हाल्नुभएका भट्टराई हाल नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिको केन्द्रीय उप महासचिव हुनुहुन्छ।
२०८२ साल मङ्सिरमा जागिर छाडेर पूर्णकालीन राजनीतिमा आउनुभएका भट्टराई कांग्रेसको महाधिवेशनमा श्रमिक कोटा सुनिश्चित गराउन आफूले लामो संघर्ष गरेको बताउनुहुन्छ।
‘मजदुर आन्दोलनबाट उठेको पार्टीमा असली ट्रेड युनियनकर्मीहरू पाखा लगाइएका छन्,’ उहाँले भन्नुभयो।
पार्टीको राजनीतिमा प्रवेश गर्नुअघि र अहिले पनि विद्युत सेवाको विस्तार तथा गुणस्तर वृद्धिका लागि आफू निरन्तर क्रियाशील रहेको उहाँ बताउनुहुन्छ। स्थानीय तहबाट विद्युत सेवासम्बन्धी गुनासा आएमा आफ्नो तहबाट सम्भव भएसम्म पहल गर्दै सेवा विस्तार र गुणस्तर वृद्धिमा सहयोग पुर्याउँदै आएको उहाँको भनाइ छ।
‘स्थानीय स्तरबाट गुनासा आएको ठाउँमा मैले बोल्दा हुने ठाउँमा बोलेर सेवा विस्तार र विद्युतको गुणस्तर वृद्धिमा सहयोग पुर्याएको छु,’ उहाँले भन्नुभयो।
पार्टीको आन्तरिक निर्वाचनमा परिणाम आफ्नो पक्षमा आए पनि नआए पनि निरन्तर काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।
‘पार्टीको आन्तरिक चुनाव जिते पनि हारे पनि निरन्तर काम गर्छु,’ उहाँले भन्नुभयो।
कांग्रेस सभापति गगन थापाले अघि सारेको नयाँ कांग्रेस निर्माणको अभियानप्रति पनि भट्टराईले आफ्नो धारणा स्पष्ट पार्नुभएको छ। क्षमता भएका, योग्य र काम गर्न सक्ने व्यक्तिलाई नेतृत्वमा पुर्याउन नसकेसम्म सभापति थापाले चाहेको कांग्रेस निर्माण हुन नसक्ने उहाँको तर्क छ।
‘क्षमता भएका, योग्य र काम गर्न सक्ने व्यक्ति छनोट गर्नुपर्छ। सभापति गगन थापाले चाहेको कांग्रेस यही अवस्थामा निर्माण हुन सक्दैन,’ उहाँले भन्नुभयो।
श्रमिक आन्दोलनको लामो अनुभव, ट्रेड युनियन नेतृत्वको पृष्ठभूमि र संगठनभित्र प्रतिनिधित्वको सवालमा आफूले गरेको संघर्षलाई आधार बनाउँदै भट्टराईले मोरङ क्षेत्र नम्बर ३ का कांग्रेस प्रतिनिधिहरूसँग आफूलाई खुला तर्फबाट मत दिएर विजयी गराउन आग्रह गर्नुभएको छ।
ADVERTISEMENT

२०८३ आश्विन १७





