झापा । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीभित्र देखिएको मतभेद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई आग्रह गर्नुभएको छ। झापा पुग्नुभएका नेता शर्माले पार्टीलाई एकताबद्ध बनाउने मुख्य जिम्मेवारी सभापति थापा र वरिष्ठ उपसभापति शर्माकै काँधमा रहेको बताउनुभएको छ। पार्टीभित्रको असमझदारी र विवादलाई लम्ब्याउनुको सट्टा संवाद र सहमतिमार्फत समाधान खोज्नुपर्ने उहाँको भनाइ छ।
उहाँले पार्टी मिलाउने प्रमुख जिम्मेवारी सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको भएको स्पष्ट पार्नुभयो।
डा. शर्माले पार्टीभित्र विचार र दृष्टिकोणमा फरक हुन सक्ने भए पनि त्यसलाई आपसी विवादको विषय बनाउन नहुने धारणा राख्नुभएको छ। कांग्रेसलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने र व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा पार्टी तथा संगठनको हितलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो।कांग्रेसभित्र विशेष महाधिवेशनको विषयलाई लिएर लामो समयदेखि मतभेद र विवाद देखिँदै आएको थियो। नेतृत्व परिवर्तन, महाधिवेशनको वैधानिकता र पार्टी सञ्चालनका विषयमा देखिएको असमझदारीले पार्टी विभाजन हुन सक्ने आशंकासमेत बढाएको थियो। तर विशेष महाधिवेशनबाट गगन थापा सभापति र विश्वप्रकाश शर्मा उपसभापति बनेपछि १५औँ महाधिवेशनले नयाँ नेतृत्वलाई अनुमोदन गरेको छ।
यसअघि पनि डा. शर्माले कांग्रेस विभाजनको बाटोमा जान नहुने धारणा राख्दै आउनुभएको थियो। दुवै पक्षका नेताले व्यक्तिगत अहंकार त्यागेर पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा उहाँले जोड दिँदै आउनुभएको छ। असन्तुष्ट पक्षका नेता तथा कार्यकर्तालाई समेत समेटेर अघि बढ्नु नेतृत्वको दायित्व भएको उहाँको धारणा छ।
डा. शर्माको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्रको एकता कायम राख्न नयाँ नेतृत्वलाई थप जिम्मेवार बन्न आग्रह गरेको देखिन्छ। पार्टीलाई बलियो र जनतामाझ विश्वासिलो बनाउन आन्तरिक विवाद अन्त्य गर्दै सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।






