Latest Post

हरि कोइराला
उर्लाबारी । काकरभिट्टा–लौकही सडक विस्तार आयोजनाको पश्चिम खण्डको निर्माण सम्पन्न गर्ने म्याद सकिन पाँच महिना मात्र बाँकी रहँदा भौतिक प्रगति ४० प्रतिशत मात्र भएको छ । सम्झौताअनुसार पाँचवटै प्याकेजको निर्माण कार्य २०८३ माघ १८ गते सक्नुपर्ने छ ।
काकरभिट्टा–लौकही सडक आयोजना (एडीबी) पश्चिम खण्ड आयोजना कार्यालय इटहरीका योजना प्रमुख जगत प्रजापतिका अनुसार सडक कालोपत्रे गर्ने तयारी भइरहेको छ । उहाँका अनुसार अहिले बेस र सब–बेस निर्माणको काम धमाधम भइरहेको छ ।मौसम अनुकुल भए भदौ १० गते देखि कालोपत्रेको काम धमाधम हुनेछ । सम्पन्न हुन बाँकी पुल, कल्भर्ट र आकाशे पुलको काम पनि तीब्र गतिले अघि बढिरहेको छ ।
पश्चिम खण्डमा निर्माण भइरहेका चारवटा भीयूपी ख्ग्ए ९ख्भजष्अगबिच ग्लमभच उबकक० ( सडक वारपार गर्ने बाटो) को काम सम्पन्न भइसकेको छ । तर,तिनीहरूको सुरक्षाका लागि पर्खालको जग खन्दा पानीको सतह माथि आएकाले पर्खालको जग निर्माण गर्न प्राविधिक रुपमा समस्या भइरहेको उहाँले बताउनुभयो । योजना प्रमुख प्रजापतिले करिब ४० प्रतिशत विद्युत पोल सार्न र खानेपानीका पाइप स्थानान्तरण गर्न अझै बाँकी रहेकोले सडकको राइट अफ वे राखी गर्न नै चुनौति भइरहेको जानकारी दिनुभयो । प्याकेज नम्बर ५ अन्तर्गतका प्रमुख पुलमध्ये रतुवा खोला पुलको दुईवटा स्पानको स्टिल इरेक्शन सम्पन्न भइसकेको छ ।तेस्रो स्पानको काम भइरहेको छ । पुलको पाइल (फाउन्डेसन) निर्माण सम्पन्न भएको छ । हालसम्म १६ वटा पाइल क्याप र ११ वटा पियर क्याप निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।
सीतापुरीदेखि गोठगाउँसम्मको ४० किलोमिटर सडक निर्माणको ठेक्का सीआरएफजी–तुङ्दी जेभीले नौ अर्ब सात करोड ३५ लाख रुपियाँमा लिएको हो । त्यस्तै गोठगाउँदेखि लविपुर, सुनसरीसम्मको १०.७६ किलोमिटर सडक पनि सोही निर्माण कम्पनीले चार अर्ब सात करोड ३५ लाख रुपियाँमा ठेक्का लिएको हो । पश्चिम खण्डमा ३०० मिटरभन्दा लामा रतुवा, बक्राहा र लोहोन्द्रा गरी तीनवटा पुल निर्माणको काम कोभेक–सीआरइजिसी–तुङ्दी जेभीले गरिरहेको छ । यी तीन पुलको ठेक्का पाँच अर्ब ६५ करोड २६ लाख रुपियाँमा लागेको हो ।
आयोजनाका अनुसार सडक निर्माणका लागि २०८० कात्तिक २ गते सम्झौता भएको थियो भने निर्माण कम्पनीले २०८० माघ १९ गतेदेखि काम सुरु गरेको थियो । सम्झौताअनुसार आगामी माघ १८ गते निर्माण सम्पन्न गर्नुपर्नेछ ।
योजना प्रमुख प्रजापतिले अपेक्षाअनुसार निर्माणको प्रगति हुन नसकेको स्वीकार गर्नुभयो । उहाँका अनुसार साइट क्लियर गर्न लामो समय लाग्नु, बेमौसमी वर्षा, जेन्जी आन्दोलन, लामो चाडपर्वका कारण कामदारको अभाव लगायतका कारण निर्माण प्रभावित भएको हो । निर्माण सामग्रीको अभावले पनि काममा असर परेको उहाँले बताउनुभयो ।निर्माण कम्पनीले चाहेको समयमा माटो नपाउने, गिट्टी–बालुवा अभाव हुने र पछिल्लो समय इरान–इजरायल द्वन्द्वको असरसमेत निर्माण क्षेत्रमा परेको छ, उहाँले भन्नुभयो ।
यता सडक समयमा निर्माण नहुँदा डेढ घण्टामा पुग्न सकिने गन्तब्यमा पुग्न चार घण्टा लाग्न थालेको छ । यात्रीको समय र गाडी धनीको इन्धन खर्च बढेको छ । तर,सम्बन्धित सरोकारवाला निकायले सडक छिटो बनाउनका लागि कुनै सहजीकरण नगरेको सडक किनाराका बासिन्दाको आरोप छ ।