Latest Post

 

पथरीशनिश्चरे । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप २०८३ को उद्घाटन खेलमा भारतीय पाहुना टोली युकेएफसी विजयी भएको छ।
गत वर्षको उपविजेता आयोजक पथरी–११ फुटबल क्लबलाई सडन डेथमा ४–३ गोलले पराजित गर्दै युकेएफसी सेमिफाइनलमा प्रवेश गरेको हो।
शनिवार पथरीशनिश्चरे स्थित प्रस्तावित रंगशालामा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा दुवै टोलीबाट चार–चार गोल भएपछि खेलको अन्तिम निर्णय सडन डेथबाट गरिएको हाे ।
टाइब्रेकरमा आयोजकका तर्फबाट सुवास तामाङ, धिरेन क्षेत्री, मन्जिल खड्का र सौरज राउतले गोल गरे। युकेएफसीका तर्फबाट वीरेन प्रधान, सिद्धान्त क्षेत्री, सिर्जल राई र सदिस राईले गोल गरे।
सडन डेथमा युकेएफसीका आकाश प्रधान, नयन प्रधान, राजीव क्षेत्री र राज रोथले गोल गरे। आयोजकका निरज परियार, सञ्जय लिङ्देन र युकेश तामाङले गोल गरे। आयोजकका खेलाडी मनिष लामाको अन्तिम प्रहार युकेएफसीका गोलरक्षक सचिन गुरुङले रोकेपछि युकेएफसी विजयी भएको हो।
उद्घाटन खेलमा उत्कृष्ट प्रदर्शन गरेका युकेएफसीका गोलरक्षक सचिन गुरुङ म्यान अफ द म्याच घोषित भए।उनले नगद सात हजार सहित म्यान अफ दम्याचकाे ट्रफि पाए ।
आइतबार हुने खेलमा गत वर्षको विजेता सिराहाको सलहेस फुटबल क्लबले एनआरटीकाे सामना गर्नेछ।