हरि कोइराला
बेलबारी ।स्रोत सुनिश्चित नभइकन ठूलो योजना सुरु गर्दा मोरङको बेलबारी –२ रमितेडाँडामा निर्माणाधीन भ्युटावर चार वर्षदेखि अलपत्र भएको छ ।
तीन आर्थिक वर्षमा सङ्घीय र कोशी प्रदेश सरकारले उपलब्ध गराएको १ करोड ६० लाख रुपियाँ खर्च भइसके पनि भ्युटावरले पूर्णता पाएको छैन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री भानुभक्त ढकालले आफ्नो निर्वाचन क्षेत्र मोरङ–३ मा ‘रमिते पर्यटन क्षेत्र’ विकास गर्ने गुरुयोजना निर्माण गरी आर्थिक वर्ष २०७४÷७५ मा ६० लाख रुपियाँ विनियोजन गर्नुभएको थियो । सोही बजेटबाट भ्युटावरको जग निर्माण गरिएको रमिते सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खगेन्द्रप्रसाद ओझाले बताउनुभयो । त्यसपछि सङ्घीय सरकार र कोशी प्रदेश सरकारबाट भ्युटावर निर्माणका लागि थप ५०÷५० लाख रुपियाँ विनियोजन भयो । जग निर्माण पछि तीन तलासम्मको काम भयो । प्रवेशद्वार निर्माण गर्न बेलबारी नगरपालिकाले छुट्टै बजेट दियो । हालसम्म सङ्घ, प्रदेश र स्थानीय सरकारको झण्डै दुई करोड रुपियाँ खर्च भइसकेको छ ।तर,२०७८ सालपछि थप बजेट प्राप्त नहुँदा भ्युटावरको निर्माणधीन संरचना खण्डहर होला कि भन्ने स्थानीय उपभोक्ताको चिन्ता छ ।
रमिते पर्यटन क्षेत्र कुनै समय ( मानिस मरेपछि अन्त्येष्ठि गर्ने ) कपुरथान बनाउने ठाउँ थियो । चिहान डाँडामा भ्युटावर बनाउने र सामूदायिक वनको आन्तरिक आम्दानी बढाउने उदेश्यले पाँच हेक्टर क्षेत्रफलमा फैलिएको चिहानघारीमा सौन्दर्य भरेर रमितेडाँडा बनाइयो । तर,पर्यटन पूर्वाधारको महत्वपूर्ण संरचनाका रूपमा अघि बढाइएको भ्युटावर नै बजेट अभावका कारण अधुरो रहेपछि सामूदायिक वनको सपना पनि पानीको फोका झैं फुटेको छ।
सामूदायिक वनका ब्यावस्थापक गङ्गा न्यौपानेका अनुसार रमिते पर्यटन क्षेत्रको गुरुयोजनाको डिपीआर १२ करोड रुपियाँको बनेको थियो । तीनसय मिटर सुरुङमार्ग हुँदै भ्युटावरको ग्राउण्डफ्लोर पुग्ने र टावर चढ्ने गरी छ तलाको भ्युटावरको डिजाइन गरिएको सामूदायिक वनका अध्यक्ष खगेन्द्रप्रसाद ओझाले बताउनु भयो ।तर, २०७८ मा विनियोजन भएको बजेट सरकार परिवर्तनसँगै रोकिएपछि थप काम हुन सकेको छैन् ।
यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ‘गनेस’ले कोशी प्रदेश भ्रमणका क्रममा विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गर्नु भएको छ । सोही क्रममा रमिते पर्यटन क्षेत्र पुग्नु भएका मन्त्री पौडेलले सौन्दर्यकरणका लागि सहयोग गर्ने आश्वसन दिनु भएको छ । ब्यावस्थापक न्यौपानेले मन्त्रीसँग सौन्दर्यकरणसँगै अपुरो भ्युटावरलाई पुरा गर्न बजेट माग गरिएको बताउनु भयो ।
स्थानीय तह र सामुदायिक वनको सीमित स्रोतले अधुरा आयोजना पूरा गर्न नसकिएको भन्दै सामूदायिक वनले सङ्घ र प्रदेश सरकारसँग पटक पटक बजेटको सुनिश्चितता गरिदिन आग्रह गरेपनि बजेट सुनिश्चित नभएको अध्यक्ष ओझाको भनाई छ ।
करिब एक दशकअघि पर्यटकीय क्षेत्र विकास गर्ने उद्देश्यले अघि बढाइएको योजना अझैसम्म अधुरो रहँदा राज्यको ठूलो लगानी खण्डहरमा परिणत भइरहेको स्थानीय केदारनाथ दुलालले बताउनु भयो । उहाँले भन्नुभयो–‘ कि सुरु गर्नु नै हुन्न थियो । सुरु गरेपछि निर्माण सम्पन्न गर्नु प¥थ्यो । राज्यको ठूलो लगानी यसरी खण्डहरमा परिणत हुँदा राज्यलाई नै घाटा भएको स्थानीय उपभोक्ता बताउँछन् ।






