Latest Post

banbasa

२९ साउन, काठमाडौं । महाकाली नदीमा पानीको बहाब तीव्र भएपछि नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज)मार्फत सवारी साधन र पैदल यात्रुको आवत–जावत रोकिएको छ।

आज बिहान ११ बजे गरिएको मापनअनुसार नदीमा १ लाख २६ हजार ७१२ क्यूसेक पानीको बहाब रहेको थियो। सुरक्षा दृष्टिले १ लाख क्यूसेकभन्दा बढी बहाबलाई खतरनाक मानिने भएकाले कञ्चनपुर प्रहरीले चार पाङ्ग्रे, दुई पाङ्ग्रे सवारी र पैदल आवत–जावत पूर्ण रूपमा बन्द गरेको जनाएको छ।

भारततर्फको शारदा ब्यारेज केन्द्रले पनि सूचना जारी गर्दै केही घण्टासम्म अझै वर्षा जारी रहने र बहाब थप बढ्न सक्ने अनुमान गरेको छ। सूचनामा अत्यावश्यक नभए पुल हुँदै यात्रा नगर्न अनुरोध गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल वर्षा गराउने प्रणाली पश्चिम नेपालमा सक्रिय रहेकाले आगामी दिनहरूमा पनि वर्षाको सम्भावना कायम रहने मौसमविद्हरूले बताएका छन्।