जाँते । मोरङको लेटाङ–८ जाँतेमा नगरपालिकाले किराँत जातीय संग्रहालय निर्माण गरेको छ ।
प्रदेश सरकारले निर्माण गरेको जाँते भ्यु टावरको भुई तलामा नगरपालिकाको सहयोगमा जातीय संग्रहालय निर्माण गरिएको हो । नगरको ५ लाख ४० हजार ८४५ रुपियाँ र स्थानीय उपभोक्ताको ५५ हजार ५५५ रुपियाँ गरी कुल ५ लाख ९६ हजार ४०० रुपियाँमा संग्रहालय निर्माण गरिएको किराँत जातीय संग्रहालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर राईले बताउनु भयो । राईका अनुसार संग्रहालयमा १५२ वर्ष पुराना सामग्रीहरू राखिएको छ । घरेलु तान,चर्खा,विनायो,घरायसी प्रयोजनका बाँस, काठबाट निर्मित सामग्रीहरू संग्रहालयमा राखिएको छ । हालसम्म ९६ प्रकारका सामानहरू संग्रह भएका छन् । तर, ति सबै सामान किराँत समूदायसँग मात्र सम्बन्धित छैनन । उहाँले भन्नुभयो–हिमाल पहाडका सबै जात जातिले प्रयोग गर्ने सामग्री लगाउने पोशाक, पुराना सिक्काहरू राखेका छौं । खासगरी किँरात समूदायसँग सम्बन्धित सामग्री बढी भएकोले किराँत संग्रहालय भनिएको हो ।
लेटाङ–८ का वडाध्यक्ष भीमप्रसाद पोख्रेलले संग्रहालयले नयाँ पुस्ताका विद्यार्थीलाई आकर्षित गरिरहेको बताउनु भयो । गुगलमा सर्च गरेर हेर्न पाइने सामग्री आँखा अगाडि हेर्न पाउँदा विद्यार्थीहरू खुसी भएका छन् । नगरले हरेक विद्यालयका विद्यार्थीलाई नेपाली समाजको विगत हेराउन संग्रहालय पु¥याउने कार्यक्रम राखेको नगर प्रमुख भुपेन्द्रकुमार लावतीले बताउनु भयो । लावतीले संग्रहालयमा अझ पुराना सामग्रीहरू खोज्ने काम भइरहेको बताउनु भयो ।






