Latest Post

बेलबारी । मोरङ–३ का प्रतिनिधिसभा सदस्य डाक्टर सुनीलकुमार शर्माले दुबै मिर्गाैलामा समस्या भएर जीवन मरणको अवस्थामा पुग्नु भएका बेलबारी ३ का १९ वर्षीय सुसान राईको निशुल्क उपचार गरिदिनु भएको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसकेर घरमै थलिनु भएका सुसान राईलाई बेलबारी वडा नं. ३ का कांग्रेस सभापति रिक्तबहादुर गुरुङले काठमाडौं मेडिकल कलेज (केएमसी)मा भर्ना गर्नु भएको थियो । त्यहाँ सांसद डा. सुनीलकुमार शर्मासँगको भेटघाटपछि केएमसीले सुसानको उपचार निःशुल्क गरिदिने प्रबन्ध गरिदिएको थियो । बिरामी राई डाक्टर शर्माकै निर्वाचन क्षेत्रका ब्यक्ति हुन् ।
डाक्टर शर्माले चुनाव ताका नै आफ्नो निर्वाचन क्षेत्रका बिरामी पैसा अभाव भएकै कारण मर्न नदिने प्रतिवद्धता जनाउनु भएको थियो ।सोही प्रतिवद्धता अनुसार सांसद शर्माले विराटनगरस्थित नोबेल अस्पतालमा मोरङ क्षेत्र नं.३ का मतदाताका लागि उपचारमा ५० प्रतिशत छुट तथा विपन्न परिवारका लागि निःशुल्क उपचारसहित ५० बेडको क्याबिन निःशुल्क गरिदिनु भएको छ । त्यस्तै मोरङ–३ का विरामीहरूका लागि खाना र आवास सहित निःशुल्क ३० बेडको व्यवस्था गरिदिनु भएको छ । यसैगरी काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजमा समेत आफ्नो क्षेत्रका बासिन्दाका लागि निःशुल्क उपचारको व्यवस्था सहित १५ शैय्याको कक्ष उपलब्ध गराइएको छ । डाक्टर शर्माले भन्नुभयो – चुनाव काङ्ग्रेसबाट जितेको हुँ । तर,निशुल्क उपचारका लागि काङ्ग्रेस भइरहनु पर्दैन । मात्र,मोरङ–३ को बसोवास प्रमाणित भए पुग्छ । उहाँले बिकास निर्माणसँगै उपचार पनि प्रतिनिधि विषय भएको बताउनु भयो ।