Latest Post

उर्लाबारी २७ असोज । तीब्र शहरीकरण र मानव बस्तीहरूमा जनघनत्व बढ्दै गएपछि मानिसको अन्त्येष्ठिका लागि पनि राज्यले ठूलो बजेट छुट्याएर घाट निर्माण गर्नु पर्ने भएको छ । तर, त्यही घाट निर्माणका लागि उर्लाबारी नगरपालिकाले ५ वर्ष निरन्तर प्रयास गर्नुप¥यो ।
चार दशक अघि देखि भोगचलन गर्दै आएको जग्गा दाताहरूसँग प्राप्त गर्न धेरै समय लागेपछि बक्राहाघाट निर्माण सम्बन्धी आयोजना सुरु हुन सककेो थिएन । जग्गा भोगचलन गर्ने सबै दाताले बक्राहाघाट निर्माणका लागि जग्गा प्रदान गरेपछि उर्लाबारी नगरपालिकाको बहुप्रतिक्षित गौरवको आयोजना बक्राहाघाट निर्माण सुरु भएको हो ।
स्थानीय ३५ जनाले ४ बिघा जग्गा बक्राहाघाट निर्माणका लागि दनिु भएको हो । २०७४ देखि नै नगरपालिकाले उर्लाबारी–४ बक्राहा खोला किनारमा घाट निर्माण गर्ने योजना बनाएको थियो । जग्गा प्राप्तिको समस्या र डिपीआर नहुँदा बिनियोजित १ करोड रुपियाँ ५ वर्ष देखि फ्रिज हुँदै आएको थियो । तत्कालिन नगर प्रमुख खड्गबहादुर फागोले नगरको गौरवको आयोजनाका रुपमा निर्माण गर्न प्रस्ताव गरेको आयोजनालाई नगरपालिकाले गत आर्थिक वर्षको बजेटमा पनि यही कार्यक्रम राखेको थियो । अघिल्लो कार्यकालमा डिपीआर समेत भइसकेको आयोजना यो वर्षको मङ्सिर ३० गते सम्पन्न हुने गरी निर्माण भइरहेको छ ।
उर्लाबारीमा व्यवस्थित घाट नहुँदा बक्राहा खोलाको पूर्व पश्चिम दुबै किनारमा शव जलाउने गरिएको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको अब्यवस्थित ठाउँमा शव जलाउँदा ठूलो समस्या हुँदै आएको थियो । बक्राहा खोला किनारमा दैनिक २/३ वटा शवको अन्त्येष्टि हुने गर्छन् । व्यवस्थित घाट नहुँदा जथाभाबी रुपमा शव जलाउँदा खोला किनारमा बसोवास गर्ने समुदायको स्वास्थ्यमा असर पर्नुका साथै नदीको सौन्र्दयता र बरिपरिको वातावरण समेत प्रदुषित र दुर्घन्धित हुँदै गएकोले ब्यवस्थित घाट निर्माणका लागि जग्गा उपलब्ध गराएको जग्गादाता लोकबहादुर कट्वालले बताउनु भयो ।
पूर्व नगर प्रमुख फागोका अनुसार उर्लाबारीको बढ्दो जनसंख्या र जनघनत्वलाई मध्यनजर गर्दै आगामी १ सय वर्षसम्मका लागि सहज हुने गरिको सात वटा साधारण प्रकारको र ३ वटा विद्युतीय शव जलाउने स्थान, किरियापुत्री बस्ने घर, धार्मिक महत्व बोकेका बोटविरुवाहरुको बगैंचा निर्माण र प्रशस्त पार्किङ सहितको आधुनिक बक्राहाघाट निर्माण हुने छ । नगरपालिकाले घाट निर्माणका लागि चालु आर्थिक वर्षमा ७० लाख रुपियाँ विनियोजन गरेकोमा ६३ लाख ४५ हजार ५४९ रुपियाँ ९७ पैसामा आयोजनाको ठेक्का लागेको छ । २०८० को असार २८ गते द्रोणिका कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको आयोजना २०८० को मङ्सिर ३० गते निर्माण सम्पन्न गर्नुपर्ने छ ।
पहिलो चरणको ठेक्का सम्झौता अन्तरगत ३ वटा शवदाह केन्द्र निर्माण हुनेछन् । पूर्व पश्चिम राजमार्गबाट साडे ३ सय मिटर उत्तरमा निर्माणाधीन बक्राहाघाट निर्माण गर्न उर्लाबारी नगरपालिकाको टोली र स्थानीय जग्गादाताहरुको उपस्थितिमा ४ विगाहा जग्गा छुट्याएर डिपिआर तयार गरिएको जग्गा व्यवस्थापन समितिका संयोजक विनोद दाहालले बताउनु भयो ।