लेटाङ । लागुऔषध विरुद्धको महाअभियान अन्तर्गत मोरङको लेटाङमा मङ्गलबार आयोजित कार्यक्रममा बक्ताहरूले भौतिक विकाससँगै नैतिक शिक्षा र सामाजिक सचेतनामा ध्यान दिनुपर्ने बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय लेटाङको आयोजनामा लेटाङ–५ स्थित प्रकोप उद्धार केन्द्रमा भएको कार्यक्रममा बक्ताहरूले यस्तो बताउनु भएको हो ।
लागुऔषध विरुद्धको जनचेतनामूलक वृत्तचित्र प्रदर्शनबाट सुरु गरिएको कार्यक्रममा लागुऔषधको प्रयोगबाट हुने असर तथा यसबाट बच्न अपनाउनुपर्ने उपायबारे बक्ताहरू बोल्नु भएको थियो । कार्यक्रममा लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्रकुमार लावतीले समुदायमा निर्माण गरिएका संरचना सुरक्षित राख्न नसक्दा विकास निर्माण अलपत्र परिरहेको बताउनु भयो । उहाँले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय कमजोर रहेको बताउँदै संघ र प्रदेशबाट सञ्चालन भएका आयोजनाका कारण पनि स्थानीय तह आलोचित हुनु परेको गुनासो गर्नुभयो । ठेक्का सङ्घले लगाउँछ, तर दोष स्थानीय पालिकाले लिनुपर्छ । सबैभन्दा नजिकको सरकार भएर पनि सङ्घ र प्रदेशका आयोजना कार्यान्वयनमा समन्वय नभएको उहाँको भनाई थियो ।
लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी निरौलाले विगतको तुलनामा लागुऔषध दुव्र्यसनको समस्या घट्दै गएको बताउनुभयो । उहाँले लागुऔषध न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि कतिपय कार्यक्रम अपेक्षा अनुसार प्रभावकारी हुन नसकेको बताउनुभयो ।
छोराछोरी सुसंस्कृत हुनु नै अभिभावकका लागि ठूलो सम्पत्ति भएको बताउँदै उहाँले अभिभावकले आफ्ना छोराछोरी कहाँ जान्छन्, के गर्छन् र कसको संगतमा छन् भन्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । सजाय र डरले भन्दा पनि खेलकुद र योगका माध्यमबाट परिवर्तन गर्न सकिन्छ, उहाँले भन्नुभयो।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जिल्लामा २१ वटा पुनस्र्थापना केन्द्र रहेको बताउनुभयो । उहाँले लागुऔषध नियन्त्रणका लागि जनचेतनासँगै नैतिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
शिक्षा दिने व्यक्ति आफैँ उदाहरणीय हुनुपर्नेमा जोड दिँदै उहाँले मुखमा खैनी च्यापेर अरूलाई खैनी नखान अर्ती दिँदा त्यसको प्रभाव नपर्ने बताउनुभयो । विगतमा जीवन पढाइ हुन्थ्यो, तर आज पाठ्यक्रम मात्र पढाइन्छ, उहाँले भन्नुभयो । नैतिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउँदै उहाँले लागुऔषध विरुद्धको महाअभियानसँगै नागरिकका गुनासा र समस्या बुझ्न पनि आफू लेटाङ आएको बताउनुभयो ।
कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राई, रास्वपाका नगर अध्यक्ष भरत राई र नेपाल स्काउट लेटाङका संयोजक रिचन तिम्सिनाले प्रतिबद्धता मन्तव्य राख्नुभएको थियो।
महा अभियानअन्तर्गत मोरङका १७ वटै पालिकामा यस्तै कार्यक्रम सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कट्वालले बताउनुभयो। उहाँका अनुसार जेठ १० गतेदेखि सुरु भएको अभियान भदौ १८ गते समापन हुनेछ ।उहाँले अब ग्रामथान, कानेपोखरी, बुढीगङ्गा गाउँपालिका र सुन्दरहरैँचा नगरपालिकामा कार्यक्रम सञ्चालन गर्न बाँकी रहेको बताउनुभयो ।






