हरि कोइराला,
उर्लाबारी । मोरङको केराबारी–५ सतिसालेका ३३ वर्षीय राजु राईले दुई वर्ष अघि माटोको घारमा स्थानीय जातको (सेरेना) मौरीपालन सुरु गर्दा गाउँघरका कसैले पत्याएका थिएनन् । घर वरिपरिको ढुङ्गा माटो मिलाएर आफैंले पाँच घार बनाई त्यही घारमा काठको डुडबाट रानो सारेर सेरेना जातको मौरीपालन सुरु गर्नु भएका राई यतिबेला २७ घारमा मौरीपालन गरिरहनु भएको छ ।
सेरेनाले नश्ल सुधार गरिएको मेलिफेरा जातले भन्दा कम उत्पादन दिन्छ । तर, मूल्य राम्रो पाइन्छ । त्यसैले राजु यतिबेला केराबारी गाउँपालिकाका १० वटा वडामा एक घर माटोको एक घार मौरी पाल्ने अभियान चलाइरहनु भएको छ । उहाँले भन्नुभयो–‘प्रत्येक घरमा मौरीपालन गरेपछि विषादीको प्रयोग हुन छोड्छ । विषादी छरेको ठाउँमा मौरी रमाउँदैन । एक घर एक मौरीपालनले आय आर्जनसँगै विषादी प्रयोग न्यूनीकरण हुने राजुको बुझाई छ । गत वर्ष पाँच घारबाट तीस किलो मह उत्पादन भयो । प्रतिकिलो एक हजार ६ सयमा घरबाटै बिक्री भयो ।
त्यसपछि राजुले माटोको घारमा आफू मात्र मौरीपाल्ने होइन ।घारको ब्यापार पनि गर्न थाल्नुभयो । राजुले भन्नुभयो –‘यो वर्ष २७ घारबाट ९० किलो मह निस्कियो । ८० किलो घरबाटै बिक्री भयो । अब अवलोकन गर्न आउनेलाई चाख्न दिन र मौरी बचाउन १० किलो जति बाँकी छ ।’वर्षायाममा मेलिफेरालाई जस्तो सातु,चिनी दिनुपर्दैन । तर,लामो झरी परेको बेला उसैले बनाएको मह दिनुपर्छ, अन्यथा रानोले घार छोडिदिन्छ ।
मौरीपालनसँगै बिभिन्न फलफुलको नर्सरी समेत सञ्चालन गर्दै आउनु भएका राजु राई यतिबेला पैसा कमाउन विदेश जानु नपर्ने बताउनु हुन्छ । कमजोर आर्थिक अवस्थाका राई कुनै समय ट्रेकिङ गाइड हुनुभयो । कहिले विदेश जान पासपोर्ट बोकेर मेनपावर कम्पनी धाउनु भयो । तर,कतैबाट पनि राजुको घरगर्जाे चल्ने आम्दानी निस्किएन ।त्यसपछि पासपोर्ट थन्क्याएर उहाँ कृषि कर्ममा लाग्नुभयो ।
स्थानीय सावित्री माध्यमिक बिद्यालयबाट एसएलसी पास गरेपछि उच्च शिक्षा पढ्ने पैसा जुटाउन सकिन । त्यसपछि सम्भावनाको खोजिमा झण्डै एक दशक डुलेरै बितेछ,उहाँले भन्नुभयो । बिदेश नजाने निर्णय गरेर फर्किएपछि धान फल्ने खेत मासेर राजुले उखु खेती सुरु गर्नुभयो । पहाडी गाउँबाट १५÷१६ किलोमिटर दक्षिण झरेर साइकलमा उखु बेच्नुभयो । उखु ब्यापार पनि लामो समय टिकेन । अनि फलफुल, बोटबिरुवाका बेर्ना उत्पादन र बिक्रीको काम थालें, उहाँले भन्नुभयो ।
राजु भन्नुहुन्छ –‘उत्तरी मोरङ पहाडी विकास संस्थाले बैदेशिक रोजगार नजाने युवालाई तालिमसँगै सहुलियत कर्जा दियो ।’ पाँच प्रतिशत ब्याजमा एक लाख ४० हजार रुपियाँ ऋण लिएपछि माटोको घारमा मौरीपालन सुरु गरेको राजुको भनाई छ । त्यही ऋणले राजुलाई आर्थिक रुपमा उठायो । पहिले ऋण भन्ने वित्तिकै डर लाथ्यो । राजुले माटोका ३० वटा घार एक लाख पचास हजारमा अर्जुनधारा नगरपालिकाका किसानलाई बिक्री गर्नुभयो । केराबारी गाउँपालिकाका कृषि तथा सहकारी शाखा प्रमुख टेकप्रसाद बास्तोलाका अनुसार राजुलाई गत आवमा पालिकाका उत्कृष्ट उद्यमी किसानका रुपमा एक लाख नगद पुरस्कारले सम्मान गरियो । बास्तोलाले भन्नुभयो –‘वडा वडामा मौरीपालन गर्न मौरीपालन समूह गठन गर्ने अभियान सुरु भएको छ । पालिकाको सहयोगमा किसानले सात प्रकारका जैविक मल र विषादी उत्पादन गर्नु भएको छ । किसानले उत्पादन गरेको मल र विषादीको प्रबद्र्धन गर्ने, रसायनिक विषादी न्यूनीकरण गर्ने र माटोको घारमा मौरीपालन गर्ने तीनवटै कार्यक्रम वातावरण मैत्री ,उद्यमशीलता र आय आर्जनसँग जोडिएका छन् । त्यसैले पालिकाले वडा वडाका किसानलाई जोड्न खोजेको हो ।






