Latest Post

हरि कोइराला,
मिक्लाजङ । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा ६०७ सय मिटर लामो जिपलाइन निर्माण भइरहेको छ । जिप लाईन मिक्लाजुङ–१ को ओखलढुङ्गाबाट वडा नम्बर २ को बतासेडाँडासम्मको हुनेछ । उत्तरपूर्वी मोरङको मिक्लाजुङ –१ का रमिते भ्युटावर, टेण्टटाउन,राजाटार,पाहुनाघर,उल्टाघरले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरिरहेको बेला जिपलाइन पनि सञ्चालनमा आउने भएपछि मोरङको पर्यटन पूर्वाधारमा नयाँ आकर्षण थपिने भएको छ ।
रमिते एडभेन्चर एण्ड टुरिजम प्रालिका सञ्चालक खगेन्द्र मादेनका अनुसार करिब १ करोड २० लाख रुपियाँको लगानीमा जिपलाइन निर्माण भइरहेको । एक महिना भित्र निर्माण सम्पन्न गरी आगामी भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको कम्पनीका इन्जिनियर थीरेन्द्र दाहालले बताउनुभयो । उहाँका अनुसार ६ सय सात मिटर लामो जिपलाइन पार गर्न करिब ३८ देखि ३९ सेकेन्ड लाग्नेछ । यो मोरङ जिल्लाकै पहिलो जिपलाइन हुने दाहालले जानकारी दिनुभयो । सञ्चालक मादेनले भन्नुभयो –‘उत्तरी मोरङमा पर्यटकीय गन्तब्य धेरै छन् । उत्पादनको पनि समस्या छैन । तर, गतिविधि थिएन । त्यसैले घुम्न आउनेलाई नयाँ मनोरञ्जन दिने उदेश्यले जीपलाईन सेवा सुरु गर्न लागेका हौं । बालबालिकालाई लक्षित गरी छुट्टै जिपलाइनसमेत निर्माण गर्ने तयारी रहेको उहाँले बताउनुभयो । बालबालिकालाई पिङ,ओखलढुङ्गा र बतासेडाँडामा होटल,रेष्टुरेन्ट समेत सञ्चालनमा आउने मादेनको भनाई छ ।
जिपलाइन सञ्चालनमा आएपछि मिक्लाजुङको पर्यटन गतिविधिमा थप विविधता आउने अपेक्षा गरिएको छ। प्राकृतिक सौन्दर्य अवलोकनसँगै साहसिक पर्यटनका गतिविधि थपिँदा पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुग्ने सञ्चालकहरूको भनाई छ ।

मिक्लाजुङ–३ का पूर्ववडाध्यक्ष समेत रहनु भएका खगेन्द्र मादेनले थप्नुभयो –‘६ जनाले लगानी गरी जीपलाई सुरु गरेका हौं । पर्यटकीय गन्तव्यको विस्तारसँगै होटल, होमस्टे, यातायात, स्थानीय उत्पादन तथा अन्य सेवामूलक व्यवसायमा समेत आर्थिक गतिविधि बढ्न थालेको उहाँको भनाई छ । पर्यटकलाई आकर्षित गर्ने गन्तव्यसँगै खाने, बस्ने र मनोरञ्जनका गतिविधि थपिँदै जाँदा पर्यटक एक दिनका लागि मात्र नभई केही दिन मिक्लाजुङमै बस्ने वातावरण बन्ने लगानीकर्ताहरूको बुझाई छ । पर्यटकीय गन्तव्यहरू थपिँदै जाँदा स्थानीय उत्पादन र आर्थिक गतिविधिसमेत बढ्न थालेका छन्,– मादेनले भन्नुभयो, ‘पर्यटकको बसाइ लम्ब्याउन सकिए त्यसको प्रत्यक्ष लाभ स्थानीय व्यवसाय र उत्पादनले पाउनेछन्।’ुल