Latest Post

हरि कोइराला
कानेपोखरी । मोरङको कानेपोखरी–४ को पौडेल बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म अहिले सिउँडी फलको ब्यावसायिक उत्पादन गरिरहेको छ । किसान विष्णु पौडेलले धेरै वटा ब्यावसायिक असफलतापछि सिउँडी फलमा सफलता प्राप्त गर्नुभएको हो ।
२०७८ भन्दा अघि पौडेलले २४ वर्ष हार्डवेयर व्यवसाय गर्नुभयो । उसबेला हार्डवेयर ब्यापारमा पौडेलको एकछत्र ब्यापार थियो । दैनिक सिमेन्ट,जस्ता, रड तथा निर्माण सामग्रीको ठूलो कारोबार हुन्थ्यो । व्यापार फस्टाइरहेको थियो । तर, बजार विस्तारसँगै हरेक चोकमा हार्डवेयर पसल खुल्न थाले । बजारको चहलपहल क्रमशः घट्दै गयो । यसैबीच २०७७ मा कोरोना महामारीले व्यापारमा ठूलो मन्दी ल्यायो । त्यसपछि २०७८ मा उहाँले फलाम, रड, सिमेन्ट र हार्डवेयर व्यवसायलाई बिट मार्दै आफ्नै माटोसँग भविष्य खोज्ने निर्णय गर्नुभयो ।
विष्णुमा पिताजी परम्परागत कृषि र पशुपालनकै आम्दानीबाट बर्सेनि अलिकति जग्गा जोड्नुहुन्थ्यो । बुबाले सक्नुभयो भने म पनि सक्छु भन्ने आत्मविश्वासले कृषिमा होमिएँ । तर, ब्यावसायिक सफलता पाउन तीन वर्ष कुर्नुप¥यो , उहाँ भन्नुहुन्छ।
चार बिघा आफ्नै जग्गामा अहिले एक बिघामा ड्रयागन फ्रुट, १० कट्ठामा केरा, १० कट्ठामा घाँस र बाह्रमासे कटहर तथा दुई बिघामा परम्परागत धान खेती गरिरहनु भएका पौडेल बिहान देखि साँझ सम्म खेतबारी मै काम गर्नुहुन्छ । दुई छोरा अध्ययनरत छन् भने श्रीमती भूमिकाले भरपुर साथ दिनुभएको छ । फर्ममा दुई जनाले रोजगारी पाएका छन् । जसमा एक जना पूर्णकालीन छन्।
त्यसो त सफलताको बाटो त्यति सहज रहेन । सुरुमा बाख्रापालन गर्नुभयो । तर अपेक्षित प्रतिफल आएन । त्यसपछि सजिवन (मोरिङ्गा) र कश्मीरी बयर खेतीको परीक्षण गर्नुभयो । मोरिङ्गा र बयर खेतीले साथीभाइ बढाउन मात्र सकियो । आर्थिक सफलता दिन सकेनन् । त्यसपछि तरकारी खेतीमा लाग्नुभयो । उत्पादन राम्रो भए पनि बजार मूल्य पाउनै नसकिने । गाउँ–गाउँ डुलाएर बिक्री गर्नुपर्ने , ब्यापारीलाई दिँदा आँखै अगाडि किलो मै १०÷१५ रुपियाँसम्म नाफा लिएर बेच्दा पनि किसानले समयमा पैसा नपाउने । बजारको अस्वस्थ प्रतिस्पर्धाले उहाँलाई निराश बनायो । तर उहाँ थाक्नुभएन ।
२०८० सालमा छ वटा माउ गाई पाल्न थाल्नुभयो । दूधको ब्यापार असाध्यै राम्रो भयो । गोबर मल खेतमा हालिनसक्नु भयो । मल सदुपयोग गर्ने उद्देश्यले ५० पोलमा ड्रयागन फ्रुट (सिउँडी फल) को परीक्षण खेती सुरु गर्नुभयो । यही निर्णय उहाँको जीवनको टर्निङ प्वाइन्ट बन्यो । तीन वर्षको अवधिमा उहाँले लगातार ड्रयागन खेती विस्तार गरिरहनु भएको छ । बजारमा चार सय रुपियाँ किलो हुँदा पौडेलले प्रतिकिलो २५० रुपियाँमै बेचिरहनु भएको छ । उहाँले भन्नुभयो ‘ एक विगाहाको फल बेच्न ब्यापारी खोजि रहनु परेको छैन् । उपभोक्ता सिधैं बारीमा आउनु हुन्छ । बिहान टिप्यो अनि ग्राहकलाई खबर ग¥यो । उहाँले माग बढिरहेकोले खेती विस्तार गरिरहेको बनाउनुभयो ।
एक बिघामा फैलिएको ड्रयागन बगैंचाबाट गत वर्ष १४ पटक उत्पादन लिनुभयो। एकै लटमा सात सय किलोसम्म फल टिपिएको उहाँ बताउनुहुन्छ। गत वर्ष करिब साढे तीन लाख रुपियाँको ड्रयागन बिक्री गर्नुभएका पौडेलले यस वर्ष आठ लाख रुपियाँको बिक्री गर्ने लक्ष्य रहेको सुनाउनु भयो । हाल ६ माउ मध्ये तीन वटा माउ गाईसमेत हटाएर उहाँ ड्रयागन विस्तारलाई प्राथमिकतामा राख्नुभएको छ। कृषि तथा पशुपालनमा हालसम्म करिब ३० लाख रुपियाँ लगानी गरिसक्नुभएका पौडेल भन्नुहुन्छ, ‘बल्ल लगानीको प्रतिफल देखिन थालेको छ। माटोसँग जोडिएर काम गर्दा आर्थिक लाभ मात्रै होइन, शारीरिक र मानसिक रूपमा पनि पूर्ण स्वस्थ महसुस गरेको छु।’