Latest Post

हरि कोइराला,
लेटाङ । ताप्लेजङ र पाँचथरबाट इलाम र झापा नटेकी प्रदेश राजधानी आउन सकिने गरी कोशी प्रदेश सरकारले निर्माण सुरु गरेको लेटाङ–६ नं. बुधबारे सडक (कानेपोखरी–लेटाङ–बुधबारे–दुर्दिम्वा–लिम्बा) निर्माण कम्पनीले काम छोडेपछि अलपत्र भएको छ ।
कोशी प्रदेश सरकारले ताप्लेजुङ र पाँचथर जिल्लालाई प्रदेशको राजधानी विराटनगरसँग जोड्न छोटो सडकका रुपमा २०८० सालमा यो सडक निर्माण सुरु गरेको हो ।२९ दशमलव ६० किलोमिटर लम्बाईको यो सडक कोशी प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री केदार कार्कीले २०८० मङ्सिर २२ गते शिलान्यास गर्नु भएको थियो ।
राँके–रवि र भेडेटार नभई सिंधै फिदिमबाट धनकुटाको चौविसे हुँदै मोरङको लेटाङ कानेपोखरी सडक हुँदै महेन्द्र राजमार्गसँग जोडिने यो सडक मेची राजमार्गबाट विराटनगर पुग्न भन्दा आधा छोटो छ । ८७ करोड ३ लाख ५३ हजार २७ रुपियाँमा निर्माण सम्पन्न हुने भनिएको सडक २०८३ को बैशाख २८ गते पूर्वाधार बिकास कार्यालय कोशी प्रदेशलाई हस्तान्तरण गर्नेगरी सन्तोषी –जोया एण्ड ब्रदर्स जेभीले निर्माण सुरु गरेको थियो । तर, सम्झौता मिति सकिँदासम्म सडकको भौतिक प्रगति ४२ प्रतिशत मात्र भएको छ । यस्तै वित्तीय प्रगति ३४ प्रतिशत मात्र छ ।
पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख इन्जिनीयर खरानन्द ईसरले भन्नुभयो –‘मध्यपूर्वको युद्धका कारण बिटुमिन अभाव भई कालोपत्रेको काम रोकिएको हो । ठेक्का लागेर पनि ६ महिना पछि काम सुरु भयो । ६ किमी सडक कालोपत्रे भइसकेको छ ।थप आठ किलोमिटर सडक कालोपत्रे गर्न तयारी अवस्थामा रहेपनि विटुमिन अभावका कारण काम रोकिएको हो । उहाँले म्याद थपको प्रक्रियामा गएको जानकारी दिनुभयो । तर, स्थानीयले भने निर्माण कम्पनीले काम नै नगरेको बताएका छन् । सडकका उपभोक्ता लेटाङ– ६ गुवाबारी सङ्गमटोलका सुरज न्यौपानेले भन्नुभयो –‘ पहिले भन्दा अहिले बढी सास्ती खेप्नु परिरहेको छ । सडकको भित्ता काटेको सामग्री महिनौं सम्म हटाइदिँदैनन । जसले गदौ आवत जावतमा समस्या भइरहेको छ । न्यौपाने मात्र होइन । भित्री बाटो भन्दा मुल सडकमा हिड्न गाह्रो भएपछि स्थानीय आक्रोशित भएका छन् । सोही वडाको देउजे टोलकी दिलकुमारी लिम्बूले भन्नुभयो –‘सडक बनाएको हो कि भत्काएको हो । बनेको भए गाडी कुदाउन ,मान्छे हिड्न सजिलो हुनुपर्ने । तर, भत्काएर लथालिङ छोडिदिँदा हामीलाई सास्ती भयो ।’
लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले समयमा सडक नबन्दा दोष जति नगरपालिकाले खेप्नु परिरहेको बताउनु भयो । हामीले पटक पटक काम छिटो सम्पन्न गर्न पूर्वाधार कार्यालय र निर्माण कम्पनीलाई आग्रह गरेका छौं । तर, हाम्रो भनाई सुनुवाई भएको छैन् । उहाँले कालेबुदुलि(कानेपोखरी–लेटाङ–बुधबारे–दुर्दिम्वा–लिम्बा) सडक कोशी प्रदेशको उत्तर पूर्वको हिमाली जिल्लासँग तराईलाई जोड्ने छोटो र महत्वपूर्ण सडक मार्ग भएको बताउनु भयो । सडक मार्ग छोटो भएपछि इन्धन खर्च मात्र बचेन । समय पनि बच्छ । तराईको खाद्यान्न पहाड लिएर जाने र पहाडबाट तरकारी, फलफूल,जडिबुटी लिएर आउन पनि सहज हुने नगर प्रमुख लावतीको भनाई छ । तर, यो सडक सपना जस्तै बनेको नगर प्रमुख लावतीले बताउनु भयो ।
२०३६ सालमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले पहिलो धनकुटाको ६ नं.बुधबारेमा ट्रयाक खोल्नका लागि सडक शिलान्यास गर्नु भएको थियो । त्यसयता उक्त सडक कालोपत्रे गर्नका लागि धेरै पहल भएपनि सडक निर्माणको प्रक्रिया अघि बढ्न सकेको थिएन । ३८ वर्षपछि ठेक्का लागेर काम सुरु भयो । तर,२०८३ बैशाखमा सम्पन्न गर्नुपर्ने सडक हालसम्म ४२ प्रतिशत मात्र काम भएको छ । स्थानीयका अनुसार आठ किलोमिटर सडकको चौडाई बढाउने(भित्ता काट्ने) काम नै सुरु भएको छैन ।
सडक बन्न थालेपछि खुसीले गदगद हुनु भएका लेटाङ–८ याङ्सिलाका कृष्णबहादुर राईले भन्नुभयो – सडक बन्ला र नाम्लो बिसाउँला भन्ने थियो । तर, पानीको फोका झैं भयो ।