Latest Post

हरि कोइराला ,विराटनगर । कोशी प्रदेशबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या लगातार बढ्दै गएको छ ।
नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले प्रकाशन गरेको कोशी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८१÷०८२ अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा कोशी प्रदेशबाट १ लाख ७७ हजार ६ सय ५९ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्ष २०८०÷८१ को १ लाख ६० हजार ६ सय ७२ जनाको तुलनामा १०.५७ प्रतिशत बढी हो । तथ्याङ्क अनुसार कोशी प्रदेशका १४ जिल्लामध्ये संखुवासभा बाहेक सबै जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको छ । संखुवासभा जिल्लामा अघिल्लो वर्षको तुलनामा ०.०८ प्रतिशतले कमी आएको छ ।
सबैभन्दा धेरै वृद्धि सुनसरी जिल्लामा देखिएको छ। सुनसरीबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १३.४१ प्रतिशत ले बढेको छ। अघिल्लो आर्थिक वर्ष २३ हजार ९ सय ४९ जना रहेकोमा गत वर्ष उक्त सङ्ख्या बढेर २७ हजार १ सय ६० पुगेको छ ।
त्यसपछि झापामा १२.२२ प्रतिशत, सोलुखुम्बुमा १२.०८ प्रतिशत, ताप्लेजुङमा १२.६२ प्रतिशत, उदयपुरमा ११.२७ प्रतिशत, भोजपुरमा ११.१२ प्रतिशत र मोरङमा ११.४८ प्रतिशतले श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । धनकुटा, इलाम, खोटाङ, ओखलढुंगा, पाँचथर र तेह्रथुममा पनि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख निरजकुमार देवले भन्नुभयो –‘ यो तथ्याङ्क विदेशमा श्रम गर्न जानेको मात्र हो । अध्ययनका लागि जाने विद्यार्थी,भ्रमण गर्न जाने र आवासीय भिषामा जानेको तथ्याङ्क यहाँ समेटिएको हुन्न ।’नेपालबाट जुन प्रयोजनका लागि विदेश गएपनि विदेशमा सबैले काम गर्छन भनेर श्रम स्वीकृतिको तथ्याङ्कमा उनीहरूलाई समेट्न सकिन्न ।
सङ्घीय, प्रदेश र स्थानीय सरकारले हरेक वर्ष स्वदेशमै रोजगारी सिर्जना गर्ने भनेर विभिन्न तालिम गोष्ठी चलाए पनि स्वदेशमा रोजगार सिर्जना हुन नसकेको कार्यालय प्रमुख निरजकुमार देवको भनाई छ ।
कृषि, उद्योग, पर्यटन तथा उत्पादनमूलक क्षेत्रमा अपेक्षित लगानी र रोजगारी विस्तार हुन नसक्दा वैदेशिक रोजगारी नेपाली युवाको प्रमुख विकल्प बन्दै गएको देखिन्छ । वैदेशिक रोजगारीबाट आउने विप्रेषण (रेमिट्यान्स) ले अर्थतन्त्र धानेको भए पनि दक्ष जनशक्ति विदेशिने क्रम तीव्र हुँदा दीर्घकालीन रूपमा उत्पादनशील जनशक्ति अभाव हुने जोखिम बढिरहेको छ । विशेषगरी सुनसरी, झापा र मोरङजस्ता औद्योगिक सम्भावना भएका जिल्लाबाट समेत वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दोहोरो अङ्कले बढ्दा स्वदेशमा रोजगारको सम्भावना छैन् भन्ने भाष्य निर्माण भएको छ ।