Latest Post

हरिप्रसाद कोइराला,
लेटाङ ।मोरङको लेटाङ–वारङ्गी सडक अन्तर्गत गुवाबारी–भुवाखोला खण्डको सडक निर्माण सम्पन्न नगरिकन कम्पनी भाग्ने प्रयास गरेको भन्दै स्थानीय उपभोक्ताले टिफर लगायतका निर्माण उपकरणको चावी नियन्त्रणमा लिएका छन् ।
यो सडक कोशी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मोरङले भ्याट सहित ९८ लाख ८३ हजार ४४९।०७ रुपियाँमा ठेक्का लगाएको हो ।२०८२ साल फागुन २६ गते ठेक्का लगाएको सडक २०८३ असार ३० गते निर्माण सम्पन्न गर्नुपर्ने थियो ।तर,सम्झौता गरेर १५÷२० पछि काम थालेको प्रतिभा कन्ट्रक्सनले सुरुदेखि नै काममा चरम लापरबाही गरेको स्थानीयको आरोप छ । स्थानीय सोमनाथ ढकालले भन्नुभयो –‘ ९८ लाख ८३ हजार ४४९।०७ रुपियाँको ठेक्का १२० दिनमा सम्पन्न हुन्छ भन्ने हामीलाई लागेको थिएन । गाउँमा आएको विकासलाई छिटो सम्पन्न होस भनेर सहकार्य गर्ने प्रयास पनि ग¥यौं । तर, निर्माण कम्पनीले हाम्रो कुरा सुनेन ।
असार ३० आउन साता दिन भन्दा कम समय छ । तर, निर्माण कम्पनीले आधा पनि काम गरिसकेको छैन् । पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख खरानन्द ईसरका अनुसार कम्पनीले हालसम्म ४२ प्रतिशत काम गरी ३२ प्रतिशत भुक्तानी लगेको छ । उहाँले ढिलो काम सुरु गरेकोले समयमा निर्माण सम्पन्न नभएको जानकारी दिनुभयो । भुक्तानी ३२ प्रतिशत मात्र भएको छ । अब म्याद थपेर काम सम्पन्न गर्ने प्रक्रिया सुरु हुन्छ । सोही कार्यालयका फिल्ड इन्जिनीयर सत्यनारायण साहले काम ढिलो थालेको , काम थाल्नासाथ इन्धनको मुल्य वृद्धि भएको र असार सुरु देखि पानी परेकोले पहाडी क्षेत्रमा काम सम्पन्न गर्न समस्या भएको जानकारी दिनुभयो ।
लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्रकुमार लावतीले सङ्घ र प्रदेश सरकारले ठेक्का लगाएका कुनै पनि योजनाका बारेमा स्थानीय तहसँग समन्वय नभइरहेको बताउनु भयो ।उहाँले भन्नुभयो –‘योजना छनौट हुँदा,डिपीआर हुँदा ठेक्का लाग्दा केही सूचना पाइदैन । जब काम बिग्रियो त्यसपछि नजिकको सरकार भन्दै अपजस लिनुपर्छ ।’स्थानीय सरकारलाई बलियो बनाउनु पर्छ भन्ने तर,समन्वय नगर्ने हो भने अधुरा र अपुरा योजना अझ बढ्ने नगर प्रमुख लावती बताउनु हुन्छ ।
यता निर्माण कम्पनी प्रतिभा कन्ट्रक्सनका प्रतिनिधि शङ्कर गौतमले लगातारको पानीले प्लाई भिजेर काम नदिने अवस्थामा पुग्ने भयो । त्यसैले प्लाई थन्क्याउन लाग्दा स्थानीयले एउटा टिफर,एउटा कङ्क्रिट मिक्सर मेशिनको चाबी स्थानीयले नियन्त्रणमा लिएको बताउनु भयो । हामी भाग्ने कुरै आउँदैन । धरौटी राखेर काम थालेका हुन्छौं । भाग्ने विषय सजिलो हुँदैन । उहाँले म्याद थप भए तीन महिनामा काम सम्पन्न गर्ने जानकारी दिनुभयो।ठेक्का सम्झौता नै ढिलो भयो,पहाडमा काम गर्न गाह्रो छ । ६÷७ घनमिटर बालुवा गिट्टी एकछिन पानी पर्दा बगाइदिन्छ । मुल्यवृद्धि पनि दोब्बर भयो । तर, पनि म्याद थप भए काम पुरा गछौं, उहाँले भन्नुभयो ।
स्थानीय विष्णु लिम्बूले निर्माण कम्पनीले समयमा काम सम्पन्न नगर्दा विद्यालय जान आउन समस्या भएको बताउनु भयो । बिरामी हुँदा अस्पताल लान ल्याउन समेत समस्या छ, उहाँले वर्षायाम सुरु भएपछि काम थालेकोले समस्या भएको बताउनु भयो ।
निर्माण कम्पनीले सात सय मिटर सडक कटिङ,७४३ घनमिटर ड्रेन निर्माण र दुई किलोमिटर सडक ग्राभेल गर्न ठेक्का लिएको हो ।