Latest Post

कानेपोखरी । मोरङको कानेपोखरी–५, जहदाका ५१ वर्षीय किसान गणेश पौडेलले २०८१ साल चैतमा पहिलो पटक व्यावसायिक रूपमा भुइँकटहर (अनारस) खेती सुरु गर्नुभयो । तीन बाली (धान,मकै र तोरी) लाग्ने आठ कट्ठा जग्गामा १२ हजार बिरुवा रोप्नुभएका पौडेललाई सुरुका दिनमा जुवा खेले झैं भयो । धान रोप्न आकासे पानी कुर्नु पर्ने ,मकैलाई बाँदरले दुख दिने,तोरीबाट खर्च नउठ्ने । त्यसैले उहाँले जोखिम मोलेर नगदे बालिमा लगानी गर्नुभएको हो ।
यसअघि सोही जग्गामा धान, तोरी र मकै खेती गर्दा वर्षभरको श्रम, लगानी र मेहनत गर्दा मुस्किलले ४० हजार रुपियाँ बचत हुन्थ्यो । हाल दुई वर्ष नबित्दै करिब पाँच लाख रुपैयाँ आम्दानी गरिसक्नुभएको छ । भुइँकटहर खेतीले आम्दानीको नयाँ सम्भावना देखाइदियो , उहाँले भन्नुभयो । यसअघि केरा र मेवाको व्यावसायिक खेती गरिसक्नुभएका पौडेल भन्नुहुन्छ, ‘हाम्रो माटो भुइँकटहर खेतीका लागि निकै उपयुक्त रहेछ। गुणस्तरीय बिरुवा, दक्ष कृषि मजदुर र आवश्यक मात्रामा रासायनिक मल सहज रूपमा उपलब्ध हुने हो भने नेपाली किसानले भारतीय उत्पादनलाई सहजै प्रतिस्थापन गर्न सक्छन्। तर, अहिले हामीसँग उपयुक्त माटो बाहेक न दक्ष श्रमिक छन्, न त समयमा मल नै पाइन्छ।’
उहाँका अनुसार नेपाली श्रमिकबाट आवश्यक स्तरको गोडमेल हुन नसकेपछि प्रत्येक तीन–तीन महिनामा भारतको किशनगञ्ज जिल्लाको गलगलियाबाट मजदुर झिकाएर गोडमेल गर्नुपर्ने बाध्यता छ। एक जना मजदुरलाई यातायात, बसोबास र खानासहित प्रतिदिन एक हजार चार सय रुपियाँ खर्च दिनुपर्छ । उहाँका अनुसार एक वर्षमा चारपटक गोडमेल गर्नुपर्छ । सामान्यतया १२कट्ठालाई बार्षिक गोडमेल र मल गरी दुई लाख रुपियाँ खर्च हुने उहाँको अनुभव छ ।
नेपाली बजारमा भुइँकटहरको माग उच्च ट ।तर,साउनको दोस्रो सातादेखि भारतीय उत्पादन ठूलो परिमाणमा भित्रिने गरेकोले नेपाली किसानले मूल्यमा प्रतिस्पर्धा गर्न कठिन हुने उहाँको भनाई छ । साउनको पहिलो साताभित्रै उत्पादन बजारमा ल्याउने गरी खेती गर्नसक्दा राम्रो आम्दानी लिन सकिने पौडेलले जानकारी दिनुभयो ।
पौडेलले सुरुमा झापाको भद्रपुर आसपासबाट बिरुवा ल्याएर खेती सुरु गर्नुभएको थियो। तर गुणस्तरीय बिरुवा नपाउँदा अपेक्षाअनुसार उत्पादन हुन नसकेको उहाँ बताउनुहुन्छ। नेपालमा भुइँकटहरको व्यावसायिक खेती अझै पनि सीमित रहेकाले झार मार्ने विषादी, गुणस्तरीय बिरुवा र दक्ष कृषि मजदुरको अभाव खेपीरहेको पौडेलले बताउनु भयो ।
प्रति बिरुवा १५ रुपियाँका दरले १२ हजार बिरुवा रोप्नुभएका उहाँको बारीमा अहिले करिब दश हजार बिरुवाले उत्पादन दिन थालेका छन्। थप १० हजार बिरुवा विस्तार गर्ने तयारीमा रहनुभएका उहाँ भन्नुहुन्छ,–‘सुरुमै बिरुवामा एक लाख ८० हजार रुपियाँ लगानी भयो। सबै बिरुवाले उत्पादन दिन थालेपछि १२ कट्ठा जग्गाबाट मात्रै वार्षिक चार लाख रुपियाँ आम्दानी गर्न सकिन्छ।’
चिसाङ खोलाको किनारमा रहेको आफ्नो जग्गामा धान खेती खासै राम्रो नहुने, समयमा मल नपाइने र सिँचाइको सुविधा पनि नहुँदा उहाँले यसअघि जहाजी केरा खेती गर्नुभएको थियो। तर जङ्लबाट आउने बाँदरले केरामा ठूलो क्षति पु¥याएपछि उहाँले बाँदरले नोक्सानी नगर्ने खेतीको विकल्प खोज्नुभयो । त्यसै क्रममा भुइँकटहर खेती रोज्नुभएको हो । ‘भुइँकटहर बाँदरले खाँदैन रहेछ,उहाँले भन्नुभयो ।
उहाँको सफल परीक्षणपछि छिमेकी किसान पनि यसतर्फ आकर्षित हुन थालेका छन्। छिमेकी हेमन्त विष्टले डेढ बिघा जग्गामा ३५ हजार बिरुवा रोप्नुभएको छ भने बमबहादुर राईले आठ कट्ठामा १२ हजार बिरुवा लगाउनुभएको छ ।
तीनै किसानका समस्या भने उस्तै छन् । गुणस्तरीय बिरुवाको अभाव, समयमा मल नपाइने समस्या र दक्ष कृषि मजदुरको कमी । यी आधारभूत आवश्यकता पूरा हुने हो भने चिसाङ खोला किनारका ठूलो क्षेत्रफलका जग्गा लिजमा लिएर व्यावसायिक रूपमा भुइँकटहर उत्पादन विस्तार गर्न सकिने उहाँहरूको विश्वास छ।
परम्परागत खेतीबाट सीमित आम्दानी भइरहेका खेतमा नयाँ बालीको सही छनोट, निरन्तर मेहनत र उचित व्यवस्थापन गर्न सके कृषिलाई नै सम्मानजनक आम्दानीको माध्यम बनाउन सकिने उहाँहरूको साझा बुझाई छ ।