Latest Post

विराटनगर ।  हेल्भेटास नेपालको सहयोग तथा कटहरी गाउँपालिकाको समन्वयमा सञ्चालित स्कुल टु वर्क ट्रान्जिसन कार्यक्रम अन्तर्गत श्री प्रजातन्त्र माध्यमिक विद्यालय, कटहरी–६, मोरङका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूले नोबेल शिक्षण अस्पतालको शैक्षिक अवलोकन भ्रमण गरेका छन्।
विद्यार्थीहरूलाई स्वास्थ्य क्षेत्रका विविध पक्षबारे प्रत्यक्ष जानकारी गराउने उद्देश्यले आयोजित भ्रमणका क्रममा अस्पतालको समग्र कार्यप्रणाली, विभिन्न विभाग, अत्याधुनिक स्वास्थ्य उपकरण तथा सेवाको अवलोकन गराइएको थियो। साथै चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूले निर्वाह गर्ने भूमिका, जिम्मेवारी र स्वास्थ्य सेवा सञ्चालन प्रक्रियाबारे जानकारी प्रदान गरिएको थियो।
भ्रमणका अवसरमा विद्यार्थीहरूले स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न पेशागत अवसर, आवश्यक शैक्षिक योग्यता, पेशागत सीप तथा भविष्यका सम्भावनाबारे समेत जानकारी प्राप्त गरेका थिए। अस्पतालका विशेषज्ञ तथा सम्बन्धित विभागका प्रतिनिधिसँगको प्रत्यक्ष अन्तरक्रियाले स्वास्थ्य क्षेत्रलाई नजिकबाट बुझ्न सहयोग पुगेको विद्यालयका प्रतिनिधिहरूले बताएका छन्।
विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई विभिन्न पेशा, कार्यस्थल तथा करियरका विकल्पसँग परिचित गराउने उद्देश्यले सञ्चालन गरिने यस्ता कार्यक्रमले उनीहरूमा भविष्यप्रति स्पष्ट दृष्टिकोण विकास गर्न तथा आफ्नो रुचिअनुसार पेशागत योजना बनाउन प्रेरणा मिल्ने विश्वास गरिएको छ।
नोबेल शिक्षण अस्पतालले शिक्षा र व्यवहारिक अनुभवबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता शैक्षिक तथा सामाजिक कार्यक्रमलाई निरन्तर प्रोत्साहन गर्दै आएको जनाएको छ। अस्पतालले भविष्यका दक्ष, जिम्मेवार तथा सक्षम जनशक्ति उत्पादनमा योगदान पुर्‍याउने आफ्नो सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको पनि जनाएको छ