Latest Post

May be an image of crowd

२९ पुस, काठमाडौं।
नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै उम्मेदवारी (मनोनयन) दर्ताको प्रक्रिया सुरु गरेको छ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले केहीबेर अघि सूचना जारी गर्दै इच्छुक उम्मेदवारलाई मनोनयन दर्ताका लागि आह्वान गरेका हुन्।

समितिले यससँगै मतदाताको नामावली पनि सार्वजनिक गरेको छ। कांग्रेसमा कुल महाधिवेशन प्रतिनिधि ४७४३ जना रहेका छन्। तर पार्टी परित्याग गरेका ६१ जना र निधन भएका ४४ जनालाई हटाएपछि हाल कायम प्रतिनिधिको संख्या ४६३८ पुगेको समितिले जनाएको छ।

विशेष महाधिवेशन मूल आयोजक समितिका संयोजक मनोजमणि आचार्यका अनुसार पार्टीभित्र अहिले तीन वटा प्रक्रिया एकसाथ अघि बढिरहेका छन्।
उनले भने, “बन्दसत्र चलिरहेको छ, वार्ता र संवाद जारी छन्, साथै निर्वाचन तालिका प्रकाशन भएसँगै निर्वाचन प्रक्रिया पनि अघि बढेको छ। संवाद सकारात्मक निष्कर्षमा पुगे राम्रो, नत्र नयाँ कार्यसमिति गठन हुनेछ।”