Latest Post

भाउन्ने (मोरङ)। न खनजोत गर्नु पर्ने, नत मल,जल र बल नै चाहिने । रोप्नु पनि नपर्ने गोडमेल पनि नचाहिने । तर पनि कमजोर आर्थिक अवस्था भएका धेरैको सहारा बनेको छ, जङ्गली साग निगुरो ब्यापार । निगुरोको ब्यापारबाट मध्य मोरङको पूर्व पश्चिम राजमार्ग आसपासका सयौं परिवारले घर खर्च मात्र चलाएका छैनन् । उपचार खर्च र छोराछोरी पढाउने खर्च पनि जोडेका छन् ।
मोरङको बेलबारी–१० भाउन्नेका निशान मिश्र र निश्चल मिश्र विद्यालय बिदा हुने बित्तिकै जङ्गल जाने गर्नुहुन्छ । निशान १० र निश्चल ८ मा पढ्नु हुन्छ । उहाँहरू दैनिक दाजुभाइ भएर ३ सय मुठा निगुरो टिप्नुहुन्छ । ब्यापारीलाई दिँदा भन्दा आफैं सडक किनारमा बसेर बिक्री गर्दा राम्रो आर्थिक लाभ हुन्छ , त्यसैले उहाँहरू बिहान भरि निगुरो टिप्ने र दिनभर सडक किनारको कल्भर्टमा बसेर निगुरोको ब्यापार गर्नुहुन्छ । ५ वर्ष अघि उहाँहरूले निगुरो टिप्न सुरु गर्दा प्रति मुठा १० रुपियाँमा बिक्री हुन्थ्यो । अहिले ठेकदारलाई दिँदा २५ रुपियाँ र आफैं बिक्री गर्न बस्दा ४० रुपियाँ सम्ममा बिक्री हुन्छ । शनिबार र छुट्टीको दिन उहाँहरू हजार १२ सय रुपियाँको निगुरो बिक्री गर्नु हुन्छ ।
१६ वर्षीय निशान मिश्रले भन्नुभयो – जङ्गल भरि मान्छे हुन्छन् । गाउँका मानिस परिवारै खाजा भात बोकेर निगुरो खोज्न निस्किन्छन् । खाजा मात्र होइन , भात पनि उतै खान्छन् । १२ बजे पछि विराटनगर , धरान र काठमाडौंका ब्यापारी राजमार्गका चौक चौकमा गाडी लिएर आउँछन् । घर बित्नेले ब्यापारीलाई बिक्री गर्छन । फुर्सदिलाहरू आफैं बसेर बेच्छन् । निशानका अनुसार लेटाङ,कानेपोखरी, भाउन्ने र लक्ष्मीमार्गबाट दैनिक सानो पिकअपमा ६÷७ गाडी निगुरो बाहिर जान्छ । निगुरोको थोक ब्यापार गरिरहनु भएका गोकुल बस्नेतले भन्नुभयो – खेतीपातिमा भन्दा निगुरो खोज्न फाइदा हुन्छ । खेत रोप्ने खेताला पाइन्न । गाउँका सबै ढोकामा ताला लगाएर निगुरो खोज्न जान्छन् । बस्नेतका अनुसार यो वर्ष ढिलो गरी पानी परेकोले असारको पहिलो साता देखि निगुरो निस्कियो । त्यसयता २ करोड भन्दा बढीको निगुरो बिक्री भइसक्यो ।
पूर्व पश्चिम राजमार्गको कानेपोखरी– भाउन्ने सडक किनारमा निगुरोको विस्कुन लगाएर बसिरहनु भएकी प्रश्ना लिम्बूले भन्नुभयो –दैनिक ३०÷३५ मुठा निगुरो टिप्छु । प्रति मुठा २५ रुपियाँले बिक्री गर्दै आउनु भएकी प्रश्नाले दैनिक ७ सय रुपियाँ कमाई भइरहेको बताउनु भयो । प्रश्नाका साथीहरू झुमा , पुनम र सुमन पनि सरदर ६÷७ सय रुपियाँ कमाई हुने बताउनु भयो ।
बिदाको दिन बाहेक आफन्त र छिमेकीहरूसँग निगुरो टिप्न जाने बालबालिका पनि कम छैनन् । अधिकांश स्कुले बालबालिका बिहान भरि जङ्गलमा भेटिन्छन् ।सानो डोकोमा अलि कति खाजा र पिउने पानी बोकेर बिहान साडे ५ बजे तिर निस्किएका उनीहरू ९ बजे खाना खान घर पुग्ने गर्छन् । र १० बजे विद्यालय पुग्छन् ।
निगुरो टिप्ने बालबालिका र तन्नेरी मात्र होइन वृद्धहरू पनि उत्तिकै भेटिन्छन् जङ्गलमा । सफा मौसम भएको दिन जङ्गलमा २ हजार भन्दा बढी मान्छे निगुरोको खोजिमा हुने गरेको स्थानीय निगुरो खरिदकर्ता सनत साह बताउनु हुन्छ । १० वर्ष देखि निगुरो संकलन गरेर ठेकदारलाई बिक्री गरिरहनु भएका साहले भन्नुभयो–दैनिक लगभग २५ हजार मुठा सङ्कलन हुन्छ । संकलित सबै निगुरो काठमाडौं र पश्चिमका शहरमा जाने गर्छ ।सङ्कलकहरूसँग प्रति मुठा २५ रुपियाँँका दरले किनेको निगुरो स्थानीय ठेकदारहरूले नै काठमाडौंको पाटीलाई २ को तीन पारेर बेच्छन् । ठेकदारले यातायात खर्च र कर जोडेर तरकारी ब्यापारीको हातमा पु¥याउँछन् ।
जिरिखिम्ती देखि लक्ष्मीमार्ग सम्मको झण्डै ८ किलोमिटर क्षेत्रबाट मात्र दैनिक झण्डै लाख रुपियाँको निगुरो बाहिर जाने गरेको साहको भनाई छ । महिनामा सबै दिन अनुकुल मौसम हुन्न । २० दिन मात्र निगुरो गयो भने पनि १ करोड २० लाख रुपियाँको निगुरो बाहिरिन्छ ,उहाँले भन्नुभयो ।