हरिप्रसाद कोइराला
लेटाङ(मोरङ) मोरङको लेटाङ –२ फडानीका खगेन्द्रराज भण्डारीले गत वर्ष ७ हजार रुपियाँको सुपारीका पात बिक्री गर्नुभयो ।उहाँले सवा सय बोट सुपारी लगाउनु भएको छ । स्थानीय लिफ्ट लेटाङ इन्टरप्राइजेजले सुपारीका पातबाट दुना टपरी निर्माण गर्ने घरेलु उद्योग खोलेपछि सुपारी खेती गरिरहेका किसानले दोहोरो लाभ लिन थाल्नु भएको छ ।
खगेन्द्रराज भण्डारीमात्र होइन् , लेटाङ –६ का हरिप्रसाद धिमालले सुपारीका पात बिक्री गरेर ११ हजार कमाइ गर्नुभयो । धिमालको बारिमा सुपारीको ठूलो बगान छ । धेरै जसो पात झरेर जान्छन् । सङ्कलन गरेर भण्डारण गर्न सक्ने हो भने पातबाटै २०/२२ हजार रुपियाँ लिन सकिने धिमालको भनाई छ । भण्डारी र धिमाल मात्र होइन । गोपीलाल मगर,देवीप्रसाद ओझा लगायत थुप्रै किसान सुपारीका पात बिक्री गरेर आर्थिक लाभ लिइरहनु भएको छ । लेटाङका सात जना उद्यमी मिलेर सुपारीका पातबाट दुना टपरी बनाउने मेसिन ल्याएपछि सुपारीका पात बिक्री हुन थालेका हुन् । उद्योगले ५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
सञ्चालक लोकनाथ तिम्सिनाले भन्नुभयो – २०७८ सालको कात्तिक देखि दुना टपरी, प्लेट उत्पादन गर्न थालेका हौं । स्थानीय बजारमा भन्दा काठमाडौं, पोखरा जस्ता ठूला बजारमा माग बढी छ । अझ बिदेश निर्यात पनि हुन थालेपछि ब्यावसायिहरू उत्साहित भएका छन् ।पछिल्लो समय बिदेश जाने प्रक्रिया अलि झन्झटिलो भएकोले उत्पादित सामान स्टक रहेको बताउनु भयो । दैनिक १० हजार प्रति दुना, टपरी, प्लेट उत्पादन गरिरहेको उद्योगले आम्दानी पनि राम्रो गरिरहेको छ ।
सामान्यतया २ रुपियाँ ५०पैसा देखि ३ रुपियाँ सम्ममा खरिद गरेको पातबाट ८/९ रुपियाँसम्ममा बिक्री गर्न सकिने प्लेट,टपरी बनाउन सकिन्छ । साना दुना ३ रुपियाँ सम्ममा बिक्री हुन्छ । २१ लाख रुपियाँ लगानी गरी लोकनाथ तिम्सिना, जसबहादुर राई, युवराज खतिवडा, रोशन पौडेल, विजय देवकोटा, सुवास राई, र अतिस सुवेदीले संयुक्त रुपमा यो व्यावसाय गर्दै आउनु भएको छ ।
स्थानीय खेर जाने वस्तुलाई सदुपयोग गर्दै आर्थिक लाभसँग जोड्ने यो व्यावसायले लेटाङका २७/२८ जनालाई प्रत्यक्ष ,अप्रत्यक्ष रुपमा रोजगार दिएको छ । सुपारीका पातलाई उपयोग गरेर वातावरणमैत्री उत्पादन गरिरहेकाले यस उद्योगको प्रबद्र्धनका लागि लेटाङ नगरपालिकाले समेत सहकार्य गर्ने भएको छ । लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले भन्नुभयो – राज्यले रोजगार दिन सक्ने अवस्था छैन् । स्वरोजगार बन्ने उद्यमीलाई आर्थिक, प्राविधिक सहयोग गर्न हामी तयार छौं। तर, ति उद्योगले रोजगार सिर्जना गर्न सक्नुपर्छ ।






