हरि कोइराला
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे –१०, जिरिखिम्तिस्थित डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहले सामूदायिक वनलाई बहुउपयोगि बनाउँदै लगेको छ । उपभोक्तालाई स्वरोजगार बनाउन वन क्षेत्रको खाली जग्गामा बेसार खेती सुरु गरेको छ । भने बन भित्रै सुपारी खेती लगाएको छ । सामुदायिक वनको झाडी फाँडेर करिब डेढ रोपनी क्षेत्रमा तीन जना उपभोक्ताले सामूहिक रूपमा बेसार खेती थाल्नु भएको छ भने एक हजार सुपारीका बिरुवा रोपिएको छ ।
वैदेशिक रोजगारीबाट फर्किनुभएका चुडाबहादुर कार्की, उमेश कार्की र स्थानीय जनक पोख्रेलले सुरु गर्नुभएको खेतीले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै सामुदायिक वनको खाली जग्गाको सदुपयोग पनि भएको छ । सामुदायिक वनका अध्यक्ष हरि निरौलाका अनुसार वन समूहले खेतीका लागि तीन सय किलो बेसारको बीउ र एकपटक खेत जोत्ने खर्च अनुदानस्वरूप उपलब्ध गराएको छ । बेसार खेती विस्तार गर्न उपभोक्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सहयोग गरिएको उहाँले बताउनुभयो ।
खेती गरिरहनु भएका जनक पोख्रेलका अनुसार बेसारको बीउ, जग्गा सम्याउने, जोत्ने, रोप्ने र गोडमेल गर्नेसहित हालसम्म करिब दुई लाख रुपियाँ खर्च भएको छ। उहाँले बैशाखमा अनुदानको तीन सयकिलो सहित आठ सय किलो बीउ रोपेको जानकारी दिनुभयो । अब फागुन–चैतमा बेसार उत्पादन लिन सकिने छ । बेसार रोप्ने, गोडमेल गर्ने र उत्पादन भित्र्याउन स्थानीय कामदारले नै काम पाउने छने । नियमित रोजगारी नभए पनि खेतीका विभिन्न चरणमा १५ देखि २० जनाले आंशिक रूपमा रोजगारी पाएको पोख्रेलको भनाई छ ।
उत्पादित बेसारलाई आफैँ प्रशोधन गरेर बजारमा बिक्री गर्ने योजना रहेको पोख्रेलले बताउनुभयो । ‘थप डेढ लाख रुपियाँ खर्च गरेर बेसारको ब्रान्डिङ गर्ने तयारीमा छौँ,’ उहाँले भन्नुभयो, –‘बजारको माग राम्रो भए सामुदायिक वनको खाली जग्गामा खेती विस्तार गर्ने सम्झौता पनि भइसकेको छ ।’ सामूदायिक वनले पछिल्ला केही वर्षयता यता बनको खालि जग्गामा सुपारीका बिरुवा समेत रोपेको छ । गत वर्ष एक हजार बिरुवा रोपेका थियौं । चालु वर्ष एक हजार पाँचसय बिरुवा रोप्ने गर्नेगरी समूहले नर्सरी ब्यवस्थापन गरेको छ । बनबाट काठ आपुर्ति भएसम्म सामूदायिक वन सञ्चालन हुने र काठ आपुर्ति बन्द भएसँगै सामूदायिक वन पनि बन्द नहोस भनेर दिगो आम्दानीका लागि सुपारी खेती लगाइएको अध्यक्ष निरौलाले बताउनु भयो ।
सामुदायिक वनले काठदाउरा व्यवस्थापन र बिक्रीमा मात्र सीमित नभई वातावरण संरक्षण तथा आयआर्जनका गतिविधिलाई समेत प्राथमिकता दिएको अध्यक्ष निरौलाको भनाई छ । सामुदायिक वनले रुख काट्ने, काठ बेच्ने र कर्मचारीलाई तलबभत्ता खुवाउने काम मात्र गर्छन् भन्ने भाष्य बनेको छ । तर, हामी वनलाई जैविक विविधताको केन्द्र बनाउने प्रयासमा छौँ, उहाँले भन्नुभयो । वन समूहले वन्यजन्तुलाई जङ्गलमै आहारा उपलब्ध गराउने उद्देश्यले खोलाकिनारमा एक हजार केराका बिरुवा रोपेको छ । हात्तीले केरा मन पराउँछन् ,त्यसैले केरा खेती लगाएका हौं । केराखेतीबाट आम्दानी लिने भन्दा पनि हात्तीलाई रोक्ने उदेश्य हो । त्यसैगरी बाँदरमैत्री जङ्गली फलफूलका बिरुवा पनि रोपिएका छन् । जामुन, फडिर, रानीकुसुम, आँप, टाटरी, कुम्भी र डुम्रीलगायतका प्रजातिको वृक्षरोपण गरिएको अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।
जङ्गलमा बाँदरले खाने फलफूलका वनस्पति मासिँदै गएपछि बाँदर राजमार्ग किनारमा आउन थालेको र यात्रुसँग खानेकुरा खोज्ने प्रवृत्ति बढेको उहाँको भनाइ छ। बाँदरलाई प्राकृतिक आहार जङ्गलमै उपलब्ध गराउन फलफूलजन्य वनस्पतिको वृक्षरोपण गरिएको उहाँले बताउनुभयो । वन समूहले डालेघाँस जथाभावी काट्नसमेत नियन्त्रण गर्दै आएको छ । वन संरक्षण, वन्यजन्तुमैत्री वातावरण निर्माण र उपभोक्ताको आयआर्जनलाई सँगसँगै अघि बढाउने प्रयासले सामुदायिक वनको उपयोगसम्बन्धी परम्परागत सोचमा परिवर्तन आउने उपभोक्ताहरू बताउनु हुन्छ ।






