हरि काेइराला । आयाेजक स्पर्श सामाजिक क्लबले भारत पश्चिम बंगालको रोथखोला फुटबल एकेडेमीलाई ३–० गोलले हराउँदै पहिलो महिला फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । आइतबार भएको फाइनल खेलमा आयोजककाे जितका लागि सुजता पालुङ्वा, मनिता तुम्रोक र समीक्षा मगरले गोल गरे ।
खेलमा मध्यान्तरअघिको अतिरिक्त समयमा सुजता पालुङ्वाले पहिलो गोल गर्दै खेलमा टिमलाई अग्रता दिलाइन । हिलाम्ये खेलमैदानमा सुजताले अञ्जली चन्दको पासलाई सदुपयोग गर्दै गोल गरेकी थिइन ।
प्रतिकूल मौसमका कारण ७० मिनेटमा सीमित गरिएको फाइनल खेलमा मनिता तुम्रोकले ४३औँ मिनेटमा उत्कृष्ट गोल गर्दै आयोजकको अग्रता २–० बनाइन । दुई गोलले पछि परेपछि रोथखोला फुटबल एकेडेमी रक्षात्मक भएको थियोे । घरेलु मैदानमा चार हजार बढी दर्शककाे हाैसला पाएकाे आयोजक सामाजिक स्पर्श क्लबका तर्फबाट समीक्षा मगरले ५३औँ मिनेटमा तेस्रो तथा निर्णायक गोल गरिन । समीक्षाको गोलसँगै आयोजकले ३–० को सहज जित निकाल्दै उपाधि सुरक्षित गरेको हो ।
उपाधिसँगै आयोजक स्पर्श सामाजिक क्लबले एक लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता रोथखोला फुटबल एकेडेमीले ५५ हजार ५५५ रुपैयाँ नगदसहित पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
प्रतियोगितामा भारतको एक टिमसहित आठ टिमको सहभागिता थियो । प्रतियोगिता गाैरादह १ काे जनता माध्यमिक विद्यालयकाे खेलमैदान भदौ १९ गतेदेखि सुरु भएको थियो ।






