काठमाडौं । बाढीले घरसम्पत्तिसहित सर्वस्व गुमाएपछि नियमित सेवन गर्नुपर्ने प्रेसरको औषधि किन्नसमेत नसक्ने अवस्थामा पुग्नुभएका सुरेशकुमार कारञ्जितले काठमाडौं मेडिकल कलेज (केएमसी) को निःशुल्क स्वास्थ्य शिविरबाट उपचारसँगै आवश्यक औषधि पाउनुभएको छ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले घरसम्पत्तिसहित सबै गुमाएपछि कारञ्जितसँग औषधि किन्ने पैसा थिएन । विभिन्न संघसंस्थाले उपलब्ध गराएको राहतबाट खाद्यान्नको जोहो भए पनि नियमित सेवन गर्नुपर्ने प्रेसरको औषधि किन्न उहाँलाई समस्या परेको थियो ।
औषधि किन्ने पैसा नभएपछि राहतमा पाएको चाउचाउ बेचेर त्यसबाट आएको पैसाले प्रेसरको औषधि किन्दै आउनुभएका कारञ्जितले केएमसीको स्वास्थ्य शिविरमा चिकित्सकबाट स्वास्थ्य परीक्षण गराएपछि आवश्यक औषधि निःशुल्क पाउनुभएको हो ।
नेपाली कांग्रेसका नेता तथा समाजसेवी डा. सुनीलकुमार शर्माको पहलमा केएमसीले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर कारञ्जितजस्ता धेरै पीडितका लागि उपचारसँगै औषधि पाउने महत्वपूर्ण माध्यम बनेको छ ।
बाढीले घर, सम्पत्ति र आम्दानीको स्रोत गुमाएका नागरिकलाई खाद्यान्न, लत्ताकपडालगायतका राहत सामग्री उपलब्ध भए पनि नियमित औषधि सेवन गर्नुपर्ने बिरामीका लागि औषधिको अभाव गम्भीर समस्या बनेको थियो । उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोग भएका वृद्धवृद्धा तथा अन्य बिरामी उपचार र औषधि दुवैको अभावमा समस्यामा परेका थिए ।
प्रभावित क्षेत्रमा कतिपय सामान्य औषधि उपलब्ध भए पनि चिकित्सकले नियमित सेवन गर्न सिफारिस गरेको औषधि नपाउने समस्या रहेको पीडितले बताउनुभएको छ । केएमसीको टोलीले भने प्रभावित क्षेत्रमै पुगेर बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै रोग र स्वास्थ्य अवस्थाअनुसार आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
शिविरबाट वृद्धवृद्धा, महिला, सुत्केरी, बालबालिका तथा दीर्घरोगीलगायत बाढी प्रभावित नागरिकले स्वास्थ्य सेवा लिइरहनुभएको छ । उपचारका लागि टाढाको स्वास्थ्य संस्था पुग्न कठिन अवस्थामा रहेका पीडितका लागि विशेषज्ञ चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमै पुगेर सेवा दिन थालेपछि स्वास्थ्य उपचारमा सहजता भएको छ ।
बाढीबाट सर्वस्व गुमाएका नागरिकका लागि उपचार खर्च जुटाउनु मात्र होइन, दैनिक सेवन गर्नुपर्ने औषधि किन्नु पनि ठूलो चुनौती बनेको थियो । कारञ्जितको अवस्था त्यसैको उदाहरण हो । पेट भर्न राहतमा पाएको चाउचाउ बेचेर जीवन जोगाउन आवश्यक औषधि किन्नुपर्ने बाध्यता उहाँले भोग्नुभएको थियो ।
केएमसीको शिविरमा आएपछि उपचारसँगै आफूलाई आवश्यक पर्ने औषधि निःशुल्क पाउनुभएपछि कारञ्जितलाई केही राहत मिलेको छ । उहाँजस्तै अन्य बिरामीले पनि चिकित्सकको परामर्शअनुसार आवश्यक औषधि निःशुल्क पाउन थालेपछि बाढीको पीडाबीच स्वास्थ्य उपचारको चिन्ता केही कम भएको बताउनुभएको छ ।
बाढीपीडितका लागि राहत खाद्यान्न र अस्थायी बसोबासको व्यवस्थामा मात्र सीमित नरहने स्वास्थ्यकर्मीले बताउनुभएको छ । नियमित औषधि सेवन गर्नुपर्ने बिरामीका लागि समयमै औषधि उपलब्ध हुनु जीवन जोगाउने महत्वपूर्ण आधार हो ।
डा. शर्माको पहलमा केएमसीले प्रभावित क्षेत्रमा सञ्चालन गरेको शिविरले उपचारसँगै आवश्यक औषधि उपलब्ध गराएपछि बाढीपीडितका लागि स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण मानवीय सहारा बनेको छ ।






