Latest Post

हरि कोइराला
लेटाङ ।उत्तरी मोरङको लेटाङ १ राजारानीमा कुनै समय बाँझै रहेको जमिन अहिले हराभरा केराघारीमा परिणत भएको छ ।
लेटाङ–१ का किसानले व्यावसायिक रूपमा भोटाङे (स्थानीयका अनुसार) जातको केरा खेती गर्न थालेपछि राजारानी क्षेत्रमा प्राकृतिक हरियाली मात्र बढेको छैन् । हरेक किसानले केरा बेचेर वार्षिक ५० हजार देखि ६ लाख रुपियाँसम्म आम्दानी लिइरहेका छन् । ६ वर्ष अघि ५० वटा बिरुवा रोपेर केराको ब्यावसायिक खेती सुरु गर्नु भएका लेटाङ नगरपालिका वडा नं. १ का वडाध्यक्ष समेत रहनु भएका विष्णुकुमार मगरका अनुसार केराखेतीमा ठुलो खर्च छैन । हाल १२ रोपनीको केराखेतीबाट वार्षिक ६ लाख रुपियाँ आम्दानी लिइरहनु भएका मगरले थप १० रोपनीमा केरा खेती विस्तार गरी २२ रोपनी क्षेत्रफल पु¥याउँनु भएको छ ।मगरले भन्नुभयो – ‘जमिन सबै बाँझो थियो ।मकै,जुनेलो र कोदो फलाउन पानी अभाव हुन्थ्यो । दुखले बालि लगायो । खर्चै नउठ्ने । अहिले विष्णुले खाद्यान्न बालि हटाएर केराखेती सुरु गरेपछि गाउँमा अरु किसानले पनि विष्णुको लयलाई पच्छ्याई रहेका छन् । त्यसयता लेटाङ १ का सबै गाउँमा केराको ब्यावसायिक खेती सुरु भएको छ । विष्णु मात्र होइन, हरेक किसानले २० बोट देखि दुई रोपनी क्षेत्रफलमा केराको खेती विस्तार गरिरहनु भएको छ ।
विष्णुका अनुसार केराखेती गर्दा प्रति बिरुवा ६० रुपियाँको बिरुवा, खाल्डो खन्न सय रुपियाँ र रोप्न चालिस रुपियाँ खर्च हुन्छ । दुई सय रुपियाँ खर्च गरेर रोपेको बिरुवाले एक वर्षपछि त्यहीँबाट थप बिरुवा दिन थाल्छन् । एक वर्षपछि केराले आम्दानी दिन थाल्छ । बगानबाटै प्रतिघरी ३५० देखि ४०० सम्ममा केरा बिक्री भइरहेको विष्णुले जानकारी दिनुभयो ।
मुल्य तलमाथि भएपनि बिक्री गर्न कहिल्यै समस्या नभएको उहाँको भनाई छ ।
विष्णुले वडा नम्बर १ को राजारानी क्षेत्रमा केराको ब्यावसायिक खेती सुरु गरेपछि यतिबेला सो वडाका कर्णबहादुर आलेमगरले पनि २० रोपनीमा केरा खेती गरिरहुन भएको छ ।उहाँ मात्रै होइन,हंश मगरले २५ रोपनीमा खेती गरिरहनु भएको छ । एक दुई रोपनी लगाउने त गाउँ पिच्छे हुनुहुन्छ । राजारानीमा मात्रै होइन ।वडाका हर्दे,कात्तिके,मुर्चुङ्गे,सरुचेटार,ढाक्रे र अधँरी क्षेत्रका किसान पनि कोदो,मकै,जुनेलो र गहुँ फल्ने खेतमा केरा रोप्न थालेका छन् । कर्णबहादुर आलेमगरले भन्नुभयो – ‘वर्षमा चारपटक गोडेपछि भयो । घरायसी मलको प्रयोगले नै प्रसस्त आम्दानी लिन सकिन्छ । विषादी आवश्यक नहुने भएकोले केरा खेतीमा ठूलो लगानी र जनशक्ति पनि आवश्यक नपर्ने किसानहरूको भनाई छ ।
किसानका अनुसार भोटाङे जातको केराको थाम ठूलो र बलियो हुने भएकाले हावाहुरीबाट कम क्षति पुग्छ । यही कारण लेटाङको हावापानीका लागि उपयुक्त सावित भएको किसानको बुझाई छ । केराखेतीसँगै किसानले बिच बिचमा सुपारी पनि लगाउनु भएको छ । सुपारीलाई बिरुवा सानो हुँदासम्म ओझेल चाहिने भएकोले सुपारी लगाएको विष्णु मगरले बताउनु भयो । मगरले प्रयोगको रुपमा तीन सय ५० वटा सुपारीका बिरुवा पनि रोपेको जानकारी दिनुभयो ।
व्यावसायिक केरा खेतीले बाँझो जमिनलाई उत्पादनशील मात्र बनाएको छैन् । स्थानीय किसानका लागि राम्रो आम्दानीको स्रोत बनेको छ ।तर,गाउँसम्म पुग्ने सडक वर्षायाममा पानीले अबरोध नहुँदा किसानलाई वर्षायाममा भने ब्यापारी बगान सम्म नआउँलान कि भन्ने चिन्ता हुने गर्छ ।