Latest Post

पथरीशनिश्चरे । तेस्रो पथरीशनिश्चरे गोल्डकपको तयारीका लागि आयोजकहरू यतिबेला धमाधम खेलमैदान मर्मत भइरहेको भएको छ।
मोरङको पथरीशनिश्चरे–१ स्थित पथरी–११ फुटबल क्लबले पथरीशनिश्चरे गोल्डकपको तेस्रो संस्करण आयोजना हुने मिति असोज १७ गते नजिकिएसँगै आयोजकहरू खेलमैदान मर्मतमा लागेका हुन् । खेलमैदान वरिपरी घेरावारा नहुँदा कतै पशुुचौपायको चरन क्षेत्र भएको छ भने कतै घाँस बढेर घारी भएको छ ।
क्लबका अध्यक्ष सुमन बिकले अहिले हरेक दिन खेलमैदानको घाँस काट्ने,सम्याउने र मैदानका खाल्डाखुल्डी पुर्ने काम भइरहेको बताउनुभयो । अघिल्ला दुई संस्करणमा खेल प्रायोजन गर्ने संस्थाले तेस्रो संस्करणमा प्रायोजन नगर्ने भएपछि आयोजकलाई प्रतियोगिता सञ्चालन गर्न चुनौति थपिएको छ । अध्यक्ष सुमन विकले भन्नुभयो – ‘प्रतियोगिता कुनै पनि अवस्थामा हुन्छ ।हामी स्रोत सुनिश्चित गर्ने अभियानमा छौं ।उहाँले तेस्रो संस्करणमा १० टिमलाई प्रतिस्पर्धामा सहभागी गराउने बताउनुभयो । यस अघिका संस्करणमा आठ टिम मात्र सहभागि थिए ।
प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । अध्यक्ष बिकका अनुसार तेस्रो संस्करणका विजेतालाई ६ लाख नगद, गोल्डकप र उपविजेतालाई ३ लाख नगदसहित ट्रफी प्रदान गरिने छ।
पथरीशनिश्चरे–१ को दीपेन्द्र स्मृति खेल मैदानमा हुने प्रतियोगितामा नेपालको ‘ए’ डिभिजन लिग खेल्ने क्लब, कोशी प्रदेशका चर्चित क्लब र भारतको एउटा टिमको सहभागिता रहने छ।