Latest Post

हरि कोइराला,
केराबारी ।स्थानीय आवश्यकता अनुसार ब्यावसायिक सीप लिने हो भने पैसा कमाउन बिदेश गइरहनु पर्दैन भन्ने उदाहरण बन्नु भएको छ,मोरङको केराबारी ५ सतिसालेका ४२ वर्षीय गणेश मगर ।
२०७० सालमा बैदेशिक रोजगारका लागि कतार पुग्नु भएका गणेशले चार बर्ष कतारमा काम गर्नुभयो । एक पटक बिदेश गएर पैसा कमाएकाहरू सामान्यतया स्वदेशमा अडिदैनन । तर,गणेशले स्वेदश मै उद्यम गर्ने भन्दै काठमाडौंमा किराना पसल गर्न थाल्नुभयो । तर, २०७६ सालमा कोरोना महामारीको भयावहले गणेशको किराना पसल उठ्न नसक्ने गरी थलियो । बिदेशमा कमाएको पैसा किराना पसल ब्यबस्थापन ,सञ्चालन र बाँकीमा सकियो । उहाँलाई त्यसैबेला देखि गाउँ गाउँ फर्केर कृषि कर्ममा जोडिने सोच आयो । घर त फर्किनु भयो । साथमा पैसा छैन ।त्यसपछि कोरिया बस्ने दिदी भिनाजुको लगानीमा सतिसाले मै बंगुरपालन सुरु गर्नुभयो । प्राविधिक ज्ञान र सीपको अभावमा बंगुरपालन ब्यावसाय पनि सङ्कटमा पर्दै गयो । बंगुरमा सामान्य रोगलाग्दा प्राविधिक नपाइने ।गाउँमा एकजना प्राविधिक जहिल्यै ब्यस्त हुने । कृषि,पशुपालन र ब्यापारमा सम्भावना खोज्दाखोज्दै थाक्नु भएका गणेशलाई बुढेसकालमा पशु प्राविधिक बन्ने बिचार आयो ।
३८ वर्षको उमेरमा सिटीइभीटीको बगलामुखी प्राविधिक शिक्षालयमा भर्ना भएर उहाँ पशु प्राविधिकको तालिम लिन थाल्नुुुभयो । एसइइ र प्लस टु उत्तीर्ण गरेर आएका साना साना साथीहरूसँगै बसेर तालिम लिँदाको क्षण गणेशका लागि छुुट्टै र बिर्सिन नसकिने रहे ।
१८ महिने पशु प्राविधिक बनेपछि गणेशका लागि एकपछि अर्को अवसरका ढोका खुल्न थाले । उहाँलाई उत्तरी मोरङ पहाडी विकास संस्थाले स्वरोजगार तालिम दियो । कन्ने च्याउ उत्पादन सम्बन्धि तालिम लिएपछि सोही संस्थाले ५ प्रतिशत ब्याजमा २ लाख रुपियाँ ऋण दियो । लिएको ऋण उहाँले च्याउ खेतीमा मात्रै लगाउनु भएन ।च्याउ खेतीसँगै झोलाको भेटेरीनरी सेवा सटरमा सार्नुभयो गाउँकी एक्ली पशु प्राविधिक सिर्जना याम्फुले आफ्नो काम गणेशलाई हस्तान्तरण गर्नुभयो । अहिले गणेश गाउँमा एक्लो पशु प्राविधिक हुनुहुन्छ । पशुको दाना,चारो,भुस,चोकर पशुपालक किसानको घर घरमा पुु¥याइदिनु हुन्छ । एक जनालाई पसलमा रोजगार समेत दिनु भएका गणेशले यतिबेला केराबारी ५ मा मात्र होइन,छिमेकी धरान उपमहानगरपालिकाको वडा नम्बर ६ मा समेत आफ्नो सेवाको साम्राज्य फैलाइसक्नु भएको छ ।
बिदेशमा मुस्किलले ५०÷६० हजार कमाई हुन्थ्यो ।अहिले सबै खर्च कटाएर ७०÷८० हजार रुपियाँ बचत हुन थालेको छ। तर, उहाँले बचत भएको पैसा ब्यावसाय बिस्तारमा लगाइरहनु भएको छ। कन्ने च्याउ ब्यावसाय भाइको रेखदेखमा छ। बंगुरपालन ,एग्रोभेट र पशु उपचारमा गणेश आफैं खट्नु हुन्छ । सँगुरको भुनि सुँगुरलाई स्पेइङ गर्ने देखि सानातिना शल्यक्रिया पनि गणेश आफैं गर्नुहुन्छ ।उहाँले भन्नुभयो – ‘अहिले एग्रोभेट र सबै ब्यावसायमा १० लाख लगानी भएको छ ।किसानसँग १२ लाख जति बाँकी छ । बाँकी नउठ्ने डर छैन । लगानी हुने बित्तिकै उत्पादन प्राप्त हुन्न । थोरै समय पर्खनु बाध्यता पनि हो ,उहाँले भन्नुभयो ।