Latest Post

हरि कोइराला ,
कानेपोखरी । जिल्ला प्रहरी कार्यालय मोरङले आयोजना गरेको लागुऔषध विरुद्धको महाअभियान कानेपोखरी गाउँपालिकामा सम्पन्न भएको छ ।
जिल्लाका सत्र वटै पालिकामा भएको कार्याक्रमको समापन कानेपोखरी गाउँपालिकामा बिहीबार सम्पन्न भएको हो । कार्यक्रममा लागुऔषध विरुद्ध जनचेतनामूलक वृत्तचित्र प्रदर्शन गरिएको थियो । विद्यार्थी, अभिभावक र जनप्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा पत्रकार सोनुकुमार दासले निर्माण गर्नुभएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । लागु औषधको प्रयोगबाट हुने असर तथा यसबाट बच्न अपनाउनुपर्ने उपायबारे वृत चित्रले सन्देश दिएको थियो।
सोही अवसरमा प्रहरी कलाकारहरूले लागुऔषधमा फसेका व्यक्तिलाई कसरी पुनर्जीवन दिन सकिन्छ भन्ने सन्देशमुलक लघु नाटक प्रस्तुत गर्नुभएको थियो । नाटकमा अशोक कार्की, यामकुमारी प्रधान, रञ्जना गिरी, आयुस राई, आकाश माझी, झुमा कार्की, टंकमाया पौडेलले अभिनय गर्नु भएको थियो । यस्तै विन्दा उप्रेती, चन्दन मरिक, सञ्जय राई, मुना रम्तेल, चन्द्रकला विष्ट, लक्सम तामाङ, विनोद श्रेष्ठ र वर्षा साहीले अभिनय गर्नुभएको नाटकले उपस्थित दर्शकलाई स्तब्ध बनाएको थियो । कार्यक्रम कानेपोखरी –६ को रमाइलो जनएकता साकोसको सभाहलमा भएको हो ।