Latest Post

हरि कोइराला
रङ्गेली । राम्रो मुल्य पाउने आशा बोकेर जुट खेतीमा लगानी गरेका मोरङका किसान यतिबेला पाटा कुहाउन खाडी र नजिकैका तलाउ,पोखरीमा पानी नहुँदा ठुलो आर्थिक नोक्सानीमा परिने चिन्तामा छन् ।
यो वर्ष जुटको बोट राम्रो आयो । बजारमा सनपाट ननिस्किदै ६ हजार ५ सय सम्ममा जुट बिक्री हुन थालेको छ । तर,किसानले सनपाट काटेर खाडीमा हाल्ने बेलामा न खाडीमा पानी छ ।न सनपाट हाल्ने खाडी नै प्रसस्त छन् । २०८१ सालमा चिसाङ खोला किनारमा सनपाट गाड्दा बाढीले बगाइ दियो । गतवर्ष सनपाट खेती अत्यन्तै कम थियो ।खाडी ,तलाउ र पोखरीहरू भरिएका थिएनन । यो वर्ष रंगेली,सुनवर्षी,रतुवामाई नगरपालिका र धनपालथान र जहदा गाउँपालिकामा सनपाट खेती विगत वर्षको तुलनामा दोब्बर भएको छ ।
रङ्गेली ८ का जितु मण्डलले भन्नुभयो –‘पोहोर भाउ राम्रो आयो । अहिले पाट ननिस्किदै ६ हजार ५ सय भनिरहेका छन् । गत वर्ष ६ कट्ठामा सनपाट लगाउनु भएका मण्डलले यो पर्ष १२ कट्ठामा लगाउनु भयो । तर, पानी नपरेर विजोग छ । पाटा कुहाउन पाएको छैन । खेतबाट ५ सय मिटर पुर्वको सानो खाडीमा आलोपालो गरेर पाटा कुहाउन हाल्नु परेको मण्डलले सुनाउनु भयो । सोही स्थानका जितेन्द्र ताजपुरियाले गत वर्ष भन्दा तीन गु्णा बढी क्षेत्रफलमा सनपाट लगाउनु भयो । जितेन्द्रले अहिले पाटा कुहाउने खाडी नपाएर समस्या भएको छ । आलोपालो गरेर पाट खाडीमा हाल्नु परेको छ । उहाँले ठूलो लगानी डुब्ला कि भन्ने चिन्ता गर्नुभयो । सोही स्थानका बैखन ताजपुरियाले १० विघामा सनपाट लगाउनु भएको थियो खोला किनारमा गाड्दा ,बगाउला भन्ने चिन्ता । अन्यत्र कतै पाटा गाड्न पाइएन । पोहोर साल सनपाट खेती नै नगर्नु भएका ताजपुरिया अहिले सनपाट गाड्न धमाधम आफ्नै खेतमा पोखरी खनिरहनु भएको छ ।
सनपाटसँग किसानले ठुलो आर्थिक लाभको सपना देखेका छन् । बजारमा मुल्य पनि तेज चलिरहेको छ।तर, गाउँघरका खाडी ,तलाउ,खोला किनारका खोल्साखोल्सी सबै सनपाटले भरिएका छन् ।गतवर्ष ७ कट्ठामा जुट खेती लगाउनु भएका रंगेली ८ का रमेश यादवले यो वर्ष १२ बिघामा जुट लगाउनु भएको छ ।तर,सनपाट कुहाउने खाडी अभाव हुँदा खर्च नउठ्ला कि भन्ने चिन्ता सुरु भएको छ । उहाँका अनुसार बोरिङको पानीले पाट कुहाउन २५ दिन खाडीमा हाल्नुपर्छ भने आकासे वा पैनीको पानीले १५÷१६ दिनमा पाट कुहाउँछ । किसानका अनुसार सघन रुपमा सनपाट खेती भएको रङ्गेली, सुनवर्षी, जहदा र धनपालथान क्षेत्रमा साउन २९ गते यता पानी परेको छैन । पहाड तिर परेको पानीले थोरै सपोर्ट भए पनि पर्याप्त नभएको किसानको भनाई छ ।
सरकारले मल,बीउ,सिंचाई र खाडी खन्न अनुदान ब्यवस्था गर्ने हो भने नेपालमा सञ्चालित उद्योगका लागि कच्चापदार्थ उत्पादन गर्न सकिने किसानको दाबी छ ।तर,एक साल मुल्य ,आउँछ ।अर्को साल आउँदैन ।गत वर्ष फागुनमा सनपाट प्रतिमन एक हजार रुपियाँमा बिक्री भयो । चैत बैशाखमा किसानले प्रति बिघा ४० हजार खर्च गरेर सनपाट लगाए ।तर,अहिले तुल्याउने बेलामा न खाडी खालि छन् ,न खाडीमा पानी छ । न आकाशबाट वर्षा नै हुन्छ । १२ बिघा सनपाट लगाउनु भएका रमेश यादवले किसान जहिल्यै अन्यायमा परिरहेको बताउनुभयो ।