हरिप्रसाद कोइराला
उर्लाबारी । पूर्वोत्तर मोरङ पश्चिम इलाम, पाँचथर र ताप्लेजुङका वासिन्दाको साडे पाँच दशक देखिको सपना बनेको मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै इलामको चुलाचुली देखि पाँचथरको रबि जोड्ने सडक अझै बन्न सकेको छैन् ।
,५५ वर्षअघि २०२८ सालमा तत्कालीन मन्त्री नगेन्द्रकुमार प्रधानले यो सडक शिलान्यास गरेपछि पश्चिम दक्षिण इलाम र पूर्वोत्तर मोरङका बासिन्दा खुसी भएका थिए । अझ इलामको चुलाचुली र साक्फाराबासीले सडक हुँदै जिल्ला सदरमुकाम इलाम पुग्न पाउने सपना बुनेका थिए । तर, प्रदेश र सङ्घ सरकारको प्राथमिकतामा नपर्दा पश्चिम दक्षिण इलामका बासिन्दा आधा दशक अघि देखिको पीडा अझैसम्म भोग्न बाध्य छन् । इलामको चुलाचुली गाउँपालिकाको कार्यालय पुग्न वडा नम्बर ६ का वासिन्दाले मोरङ र झापा टेक्दै जानुपर्छ । यो समस्या आजको मात्र होइन । शासन ब्यवस्था फेरियो ।गाउँ पञ्चायत गाविस हुँदै गाउँपालिका बने तर, तत्कालीन साक्फारावासीको टाउकोबाट डोको र नाम्लो छुटेको छैन । दैनिकी बदलिएको छैन ।
सडक बनेपछि साक्फाराबासीले पहाड–तराईको दूरी घट्ने । बस चढेर सदरमुकाम जाने सपना देखेका थिए। तर साडे पाँच दशकभन्दा बढी समय बितिसक्यो । सडक बन्दैन ।हरेक चुनाबमा ठुला साना सबै दलले यही सडक बनाउने सपना बाडेर मत माग्छन् । तर, सदरमुकाम त परको कुरा आफ्नै गाउँपालिका कार्यालय पुग्न मोरङ र झापा नटेकी धर छैन । पञ्चायतकालमा पाँचथर र मोरङका नेता बिचको टकरावका कारण प्राथमिकतामा नपरेको सडक बहुदल आएपछि बन्नेमा स्थानीय आशावादी थिए । २०५१ मा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले रातो किताबमा सडकलाई समावेश गरेपछि फेरि आशा पलायो । तर, भरतमोहनले पनि रातो कितापमा राखेको योजनालाई बजेट विनियोजन गर्न सक्नु भएन ।
सरकारले बेवास्ता गरेपछि स्थानीयले २०६४ मा उर्लाबारी युवा क्लबको संयोजनमा मोरङ, इलाम र पाँचथरका प्रतिनिधिहरूको भेलाले लालबहादुर श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन ग¥यो । त्यसपछि स्थानीयको श्रमदान, आर्थिक सहयोग र अथक प्रयासबाट चुरे क्षेत्रको जोखिमपूर्ण सिस्ने, एकपाइले, तिनचुले र छालासुकुवा खण्ड पारगर्दै २०७४ मा सडकको ट्रयाक रवि पु¥याइयो । ट्रयाक खुलेपछि पहिलो पटक फुङ्नामसम्म एम्बुलेन्स पुग्दा स्थानीयले हर्ष बढाँई गरेका थिए । अहिले हिउँदमा दुखले साना गाडी गुड्छन् ।जब वर्षायाम सुरु हुन्छ ,अनि चुलाचुली ६ का आठ सय चालिस घरधुरीको दुर्दिन सुरु हुन्छ । वर्षायाममा खोल्सा, पानीको बहाव र पहिरोले सडकका धेरै ठाउँमा क्षति पुर्याउँछ छ ।
साक्फारा –६ फुङ्नामका लालबहादुर श्रेष्ठ, दीपक श्रेष्ठ, भक्त श्रेष्ठ, प्रकाश श्रेष्ठलगायतको अगुवाइमा सडकको ट्रयाक खुल्यो ।ट्रयाक खुलेपछि उर्लाबारी मधुमल्लाका नेताहरू मानबहादुर श्रेष्ठ,शेरबहादुर बस्नेत,बेदनिधि ढकाल,देवीप्रसाद आचार्य,सेवन्त दाहाल लगायतले सरकार फेरिँदै पिच्छे सडक निर्माणका लागि बजेट विनियोजन गरिदिन पटक–पटक सरकारी कार्यालय धाउनु भयो । हरेक सरकारले आश्वासन मात्रै दिन्छन् ।
इलामको चुलाचुली ६ का वडाध्यक्ष दिलकुमार राईले भन्नुभयो–‘यो सडक जम्मा ५२ किलोमिटर लामो हो । जसको ३० किलोमिटर खण्ड चुलाचुली ६ मा पर्छ । मोरङको मिक्लाजुङ– ८ तोरीबारी देखि पाँचथर सिमान दारेगौडा भञ्ज्याङसम्म चुलाचुली गाउँपालिका वडा नम्बर ६ को भुगोलमा पर्छ । वर्षायाममा आफ्नो पालिकाको कार्यालय जान मोरङ र झापा हुँदै जानुपर्छ । उहाँले सडक सपना जस्तै भएको सुनाउनु भयो । दुई वर्ष अघि ३ करोड रुपियाँ बजेट विनियोजन भएको कुरा सुन्यौं । पैसा विनियोजन भए पनि सडक ठेक्का नै लागेन ।
स्थानीय दीपक श्रेष्ठले भन्नुभयो–‘सडकको ट्रयाक खोलेको वर्षौँ बितिसक्यो। धेरै पछि ट्रयाक खुलेका सडक कालोपत्रे भइसके । हाम्रो सडकमा कुनै सरकारको ध्यान पुगेन । स्थानीयका अनुसार ५२ किलोमिटर लम्बाइको यस सडक खण्डमा ठूलो खोला छैनन् ।त्यसैले पुल निर्माण गरिरहनु पर्दैन ।
सडक निर्माण नहुँदा इलामको भूगोल भित्र बसेपनि इलामले नहेर्ने, मोरङले पनि नदेख्ने अवस्थामा रहेको बताउाछन् । साडे पाँच दशकदेखि दोहोरिँदै आएको एउटै प्रश्न अझै जीवित छ, २०२८ सालमा शिलान्यास भएको सडकमा राज्यका आँखा किन परेनन ?






