Latest Post

हरि कोइराला
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङ र मातहतका दुई वटा इलाका प्रशासन कार्यालयबाट बैबाहिक अंगिकृत नागरिकता प्राप्त गर्नेको सङ्ख्या २१.१९ प्रतिशतले बढेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार मोरङबाट आव २०८२÷०८३ मा एक ३६१ जनाले बैबाहिक अंगिकृत नागरिकता लिएका छन् । अघिल्लो आव २०८१÷०८२ मा एक हजार १२३ जनाले यस प्रकारको नागरिकता लिएका थिए । यस्तै अंगिकृत नागरिकता एक हजार ४९० जनाले लिएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङ र मातहतका इलाका प्रशासन कार्यालयबाट यसअघि अंगिकृत नागरिकता प्रदान गरेको देखिदैन । जिल्ला प्रशासन कार्यालय मोरङ विराटनगरबाट मात्र आव २०८२÷०८३ मा बैबाहिक अंगिकृत ७९७ र अंगिकृत नागरिकता ९७५ जनालाई प्रदान गरिएको छ । यस्तै इलाका प्रशासन कार्यालय रङ्गेलीबाट बैबाहिक अंगिकृत ४६२ र अंगिकृत नागरिकता ४८९ जनालाई प्रदान गरिएको कार्यालय प्रमुख निर्मलकुमार खतिवडाले जानकारी दिनुभयो । यस्तै इलाका प्रशासन कार्यालय उर्लाबारीका कार्यालय प्रमुख नारायण पाण्डेयका अनुसार उर्लाबारी कार्यालयले २६ जनालाई अंगिकृत र १०२ जनालाई बैबाहिक अंगिकृत नागरिकता प्रदान गरेको छ ।
मोरङ जिल्लाबाट गत आवमा ३३ हजार २४४ ले बंशजको नागरिकता लिएका छन् भने आठ जनाले नागरिकता त्याग गरेका छन् । यस्तै जिल्लाबाट २७ हजार ५६० जना राहदानी प्राप्त गरेका छन् ।