उर्लाबारी । उर्लाबारी नगरपालिका र विराटनगर–४, कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच नगरवासीलाई उपचारमा सहुलियत उपलब्ध गराउने सम्झौता भएको छ।
सम्झौताअनुसार उर्लाबारी नगरपालिकामा बसोबास गर्ने नागरिकले नोबेल मेडिकल कलेजमा उपचार गराउँदा तोकिएका सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। सम्झौतामा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका महाप्रबन्धक दिपेश राई र उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले हस्ताक्षर गर्नुभएको छ। कार्यक्रममा अस्पतालका जनसम्पर्क अधिकृत नवीन दाहाललगायतको उपस्थिति थियो।
सम्झौताअनुसार नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य बीमा, आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कोषलगायतका सुविधा पूर्णरूपमा उपभोग गरिसकेपछि पनि उपचार निरन्तर गर्नुपर्ने अवस्थामा अस्पतालमा उपलब्ध अप्रेसनसहितका सेवामा २० प्रतिशत छुट दिइनेछ। स्वास्थ्य बीमामा आबद्ध नभएका तथा बीमा सक्रिय हुनुअघिको अवधिका बिरामीले समेत यो सुविधा पाउने व्यवस्था गरिएको छ।
छुट सुविधा लिन नगरपालिकाका तर्फबाट नगर प्रमुख वा तोकिएका पदाधिकारीको सिफारिस, ठेगाना खुल्ने परिचयपत्र तथा नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ। १६ वर्षमुनिका बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि आवश्यक पर्नेछ।
यसैगरी, काठमाडौं र भक्तपुरस्थित केएमसी अस्पतालमा पनि सोही सम्झौताअनुसार सेवा प्राप्त हुने भएको छ। उक्त सेवा लिनका लागि नगरपालिकासँग समन्वय गर्न उर्लाबारीवासीलाई प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले आग्रह गर्नुभएको छ।
त्यसैगरी, नगर अस्पताल वा अन्य स्वास्थ्य संस्थाबाट थप उपचारका लागि सिफारिस भएर आउने कोशी प्रदेशका बिरामीलाई समेत सम्झौताअनुसारको सहुलियत उपलब्ध गराइनेछ। त्यस्ता बिरामीले सम्बन्धित स्वास्थ्य संस्थामा जाँच गराएको कागजात र थप उपचारका लागि पठाइएको विवरण पेश गर्नुपर्नेछ।
सम्झौताअनुसार प्रत्यक्ष स्वास्थ्य उपचारसँग सम्बन्धित सेवामा मात्र छुट लागू हुनेछ। IVF, प्लास्टिक सर्जरी, कस्मेटिक सर्जरी, क्याबिनमा बसेर गरिने उपचार तथा औषधि, चिकित्साजन्य सामग्री, इम्प्लान्ट, सर्जिकल तथा कन्ज्युमेबल सामग्रीमा भने छुट लागू हुने छैन।
सम्झौताको अवधि हस्ताक्षर भएको मितिदेखि एक वर्षको रहनेछ। दुवै पक्षको सहमतिमा सम्झौताका बुँदा परिमार्जन तथा सम्झौता नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।
नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले दैनिक करिब दुई हजार बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ। अस्पतालका जनसम्पर्क अधिकृत नवीन दाहाल र महाप्रबन्धक दिपेश राईको समन्वयमा भएको सम्झौताले उर्लाबारीलगायत कोशी प्रदेशका बिरामीलाई उपचारमा थप राहत पुग्ने नगर उपप्रमुख मीनाकुमारी खतिवडा पौडेलले बताउनुभएको छ।






