हरिप्रसाद कोइराला ,मोरङ । पूर्वी मोरङका दुई ठूला नगरपालिकाले स्थानीय तहको दोस्रो कार्यकाल सकिन एक वर्ष भन्दा कम समयावधि बाँकी रहँदासम्म फोहोर ब्यवस्थापनको स्थायी टुङ्गो लगाउन सकेका छैनन । उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान निकाल्न नसकेका हुन् ।
उर्लाबारी नगरपालिकाले उर्लाबारी –५ झुम्रामा बक्राहा खोला किनारमा फोहोर डम्पिङ गरिरहेको छ । यता पथरीशनिश्चरे नगरपालिकाले शान्ति सामूदायिक वनको संरक्षण क्षेत्रभित्र फालिरहेको छ । दुवै नगरपालिकाले फोहोर व्यवस्थापनबाट लाखौँ रुपियाँ राजस्व सङ्कलन गरेपनि सुरक्षित डम्पिङ साइटको अभावमा फोहोर जथाभावी फालिँदा समस्या वर्सेनि जटिल बन्दै गएको छ । बाढीले उर्लाबारीको फोहोर किसानको खेतमा बक्राहा खोलाले धार परिवर्तन गरी पूर्वतर्फ कटान हुन थालेपछि उर्लाबारी नगरपालिकाले विसर्जन गर्दै आएको फोहोर बाढीसँगै बगेर उर्लाबारी–८ र रतुवामाई–१० का किसानका खेतमा पुग्ने गरेको छ । यो क्रम विगत चार वर्षयता नियमित जस्तै छ । ठूलो पानी पर्नासाथ बाढी आउँछ र खोलाको किनारमा कटान हुन्छ । कटान सुरु भएपछि फोहोर बाढीले बगाएर किसानको खेत खेतमा पु¥याउने गर्छ । २०७५ साल अघिसम्म नगरपालिकाले वडा नं. ३ स्थित आफ्नै जग्गामा फोहोर विसर्जन गर्दै आएको थियो ।तर, बक्राहा खोलाले नगरको डम्पिङ साइट बगाएपछि २०७५ चैत २१ गतेदेखि नगरले जय श्री पाथिभरा इन्भाइरोमेन्ट केयर प्रालिलाई फोहोर व्यवस्थापनको जिम्मा दिएको हो। जय श्री पाथिभरा इन्भाइरोमेन्ट केयर प्रालिका सञ्चालक नेत्रप्रसाद घिमिरेले भन्नुभयो– ‘ पाँच वर्षे सम्झौता सकिनु अघि नै वैकल्पिक व्यवस्था गर्न नगरपालिकालाई जानकारी गराएको थिएँ । नगरपालिकाले नयाँ ठेक्का आह्वान पनि गरिसक्यो । कोही ठेक्का हाल्न आउँदैनन् । पाँच वर्षे सम्झौता २०८० चैत १९ गते सकिएयता नगरपालिकाले म्याद थप्दै काम लगाइरहेको घिमिरेले जानकारी दिनुभयो । हाल नगरपालिकाका दुईवटा ट्याक्टरले दैनिक १० देखि १३ ट्याक्टर फोहोर खोलाको किनारमा डम्पिङ गर्दै आएको छ ।
नगरपालिकाका सूचना अधिकारी रोशन ठाकुरका अनुसार नगरपालिकाले सम्झौता सकिनुभन्दा एक वर्षअघि नै ठेक्का आह्वान गरेपनि ठेक्का नपरेको बताउनु भयो ।उहाँले गत आवमा पाँच पटक सूचना निकाल्दा समेत कसैले फर्म नभरेको जानकारी दिनुभयो । डम्पिङ साइटका लागि जग्गा भेटिए पनि स्थानीयले सहमति दिँदैनन्। त्यसैले फोहोर व्यवस्थापन नगरपालिकाको सबैभन्दा ठूलो चुनौती बनेको छ,“ उहाँले भन्नुभयो। पथरीशनिश्चरेमा वनमै फोहोर, राति आगो यता पथरीशनिश्चरे नगरपालिकामा पनि स्थायी डम्पिङ साइट नहुँदा वर्षौंदेखि शान्ति सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा फोहोर विसर्जन हुँदै आएको छ।
तीव्र शहरीकरणसँगै नगरबाट दैनिक करिब तीन टन फोहोर उत्पादन हुने गरेको छ। साविक पथरी गाविसमा सुरु गरिएको डम्पिङ स्थलमै अहिले सम्पूर्ण नगरको फोहोर फालिने गरिएको छ। नगरको वातावरण शाखा प्रमुख सुरेन्द्र राईका अनुसार‘सुरुका दिनमा एउटा ट्याक्टरले फोहोर सङ्कलन गरि डम्पिङ गर्दै आएकोमा हाल आएर दुईवटा ट्रिपर र दुईवटा ट्याक्टरले दैनिक फोहोर सङ्कलन गरिरहेको छ । यता शान्ति सामुदायिक वनका उपाध्यक्ष नबराज मिश्रले वैकल्पिक व्यवस्था गर्न पटक–पटक आग्रह गरेपनि नगरपालिकाले अटेर गरेको बताउनु भयो । स्थानीयका अनुसार सड्ने, नसड्ने र पुनः प्रयोग गर्न सकिने फोहोर छुट्याइँदैन। सैलुन र ब्युटी पार्लरका केश, कुखुराका प्वाँख, रक्सीका बोतल, स्लाइनका बोतल र पाइप, अस्पतालजन्य फोहोर, रगत लागेको प्याड, सिसाका टुक्रा तथा विद्युतीय सामग्रीको फोहोर एउटै ठाउँमा थुपारिने गरिएको छ। पथरीशनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले चालु वर्षको बजेटमा निजी क्षेत्रसँग सहकार्य गरी फोहोर व्यवस्थापन गर्न ५० लाख रुपियाँ विनियोजन गरेको बताउनु भयो । तर, उक्त पैसा खर्च भएन । आगामी बजेटमा पैसा विनियोजन नभएको उहाँको भनाई छ । नगरपालिकाको राजस्व शाखाका प्रमुख ताराप्रसाद ढकालले आव २०८२÷०८३ सकिन तीन दिन बाँकी हुँदा फोहोर मैलाबाट ११ लाख ४५ हजार २५२ रुपियाँ सङ्कलन भएको छ ।






