हरिप्रसाद कोइराला ,
उर्लाबारी । मोरङको लेटाङ १ राजारानीका पदमबहादुर मगर राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्न इलाका प्रशासन कार्यालय उर्लाबारी धाउनु भएको चार दिन भयो ।
६३ वर्षीय मगरले जिजुबाजेका पाला देखि भोगचलन गर्दै आएको ३२ रोपनी जग्गा ऐलानी हो । चार दाजुभाइलाई बाबुले ८÷८ रोपनी अंश लगाइदिएको त्यही जग्गा आफ्नो नाममा दर्ता गराउन उहाँलाई निक्कै चर्काे परिरहेको छ । उहाँ मात्र होइन उहाँका जेठा दाजुका छोराहरू र माइला र साइला दाजु पनि आफ्ना भए भरका प्रमाण बोकेर कहिले नगरपालिका ,कहिले वडा कार्यालय त कहिले इलाका प्रशासन कार्यालय धाइरहनु भएको छ ।
तत्कालिन भूमि आयोगले निस्सा वितरण गरेका जिल्लाका भुमिहीन दलित,भुमिहीन सुकुमबासी र अब्यबस्थित बसोवासीलाई सरकारले भुमि समस्या समाधान समिति मोरङ मार्फत पुरानो निस्सा सहित पुरक फारम फर्न आब्हान गरेपछि यतिबेला सुकुमबासीहरू धमाधम फारम भरिरहेका छन् ।तर,यो पटक फारम फर्दा नागरिकता,राष्ट्रिय परिचय पत्र, पान नं.,मतदात परिचपत्र ,बैंक स्टेटमेन्ट, सवारी साधन विवरण, शेयर लगानी भए सो को विवरण,तीन पुस्ते लगायत विभिन्न ११ वटा विवरण माग गरेको छ ।
नगरपालिकामा पान नं. लिइसकेका सुकुमबासीहरू अहिले धमाधम राष्ट्रिय परिचय पत्र बनाउन फोटो खिचिरहेका छन् ।मङ्गलबार फारम भर्नु भएका लेटाङ ७ वारङ्गीका दिपक रानामगरले भन्नुभयो –‘आज पालो आउने दिन भनेर आएको अझैसम्म लाइनमा छु। लेटाङको वारङ्गीबाट उर्लाबारी आउन जान दैनिक एक हजार पाँच सय लाग्छ । ३५ रोपनी जग्गाको निस्सा लिएको चार वर्ष भयो । वडामा राष्ट्रिय परिचयपत्रको लागि फोटो खिच्ने टोली आएको बेला वास्तै भएन ,अहिले दुख पाइयो ।४५ वर्षीय मगरले सरकारले गरिवलाई दुख दिएको आरोप लगाउनु भयो ।
कानेपोखरी ६ की सिर्जना विश्वकर्मा पनि राष्ट्रिय परिचय पत्र लिन इलाका प्रशासन कार्यालय धाएको तीन दिन भयो । एक कट्ठा जग्गाका लागि दम्पती नै बिदेशबाट आएर सुरुमा पान नं. र पछि राष्ट्रिय परिचय पत्रका लागि फोटो खिच्न आएको सिर्जनाले बताउनुभयो ।
इलाका प्रशासन कार्यालय उर्लाबारीका कार्यालय प्रमुख नारायण पाण्डेयले जनशक्तिको अभावले दिनको ८० जनाको भन्दा बढीको फोटो खिच्न नसकिएको बताउनुभयो । यसअघि हुम्लाको प्रमुख जिल्ला अधिकारी रहनु भएका पाण्डेयले भन्नुभयो –‘पुरै हुम्लाको जनसङ्ख्या ५५ हजार ३९४ थियोे । १९ जना कर्मचारीले काम गर्नु पथ्र्याे । इलाका प्रशासन कार्यालय उर्लाबारीले छ वटा पालिकाका ५४ वटा वडाका ३ लाख जनसंख्यालाई सेवा दिनुपर्छ । १६ जना कर्मचारीमा ७ जना करारका हुनुहुन्छ । सवारी चालक ,भान्से सबैले कार्यालयको काममा सहयोग गरिरहनु भएको कार्यालय प्रमुख पाण्डेयले जानकारी दिनुभयो । उहाँले गत सोमबार देखि बुधबारसम्म पुर्वपश्चिम राजमार्ग स्तरोनन्तिका क्रममा केवल चुडिएपछि तीन दिन काम रोकिएको र त्यसको लोड पनि थपिएपछि भीड बढेको बताउनु भयो ।विगतमा दुई वटा काउण्टरबाट सेवा दिइरहेकोमा हाल एउटा काउण्टर थपगरी तीनवटा बाट दैनिक १२० जनाको फोटो खिच्ने काम भइरहेको छ । उहाँले भन्नुभयो–‘ सोमबार ३७६ जना मङ्गलबार २८७ जना बुधबार २८५ जना र बिहीबार २४५ जनालाई फोटो खिच्ने टोकन वितरण गरिएको बताउँदै उहाँहरूलाई पालैपालो फोटो खिच्न बोलाइने उल्लेख गर्नुभयो ।
सरकारले राष्ट्रिय परिचय पत्रको ब्यवस्था गरे लगत्तै वडा वडामा टोली पठाएर फोटो खिच्ने प्रबन्ध मिलाइएको थियो । तर, उक्त टोलीमा सुकुमबासीहरूले फोटो नखिचेकोले हाल भीड बढेको छ । लेटाङ नगरपालिकाको भूमि शाखाका कर्मचारी श्याम राईले भन्नुभयो –‘हालसम्म निस्सा लिएका ४ हजार पाँचसय मध्ये ३५ प्रतिशतले मात्र पुरक फारम भर्नु भएको छ । निस्सा लिएका धेरैसँग पान नं. र राष्ट्रिय परिचय छैन् । त्यसैले पुरक फारम भर्ने काम सुस्त छ ।






