लेटाङ । मोरङको लेटाङ –६ गुवाबारीमा पूर्वाञ्चल भ्यु रिसोर्ट सञ्चालनमा आएको छ ।
लेटाङका होटल ब्यावसायी पिटर खालिङले पाँच करोड ५० लाख रुपियाँको अनुमानित लागतमा भ्यूटावर सञ्चालनमा ल्याउनु भएको हो । रिसोर्टको कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले शुक्रबार उद्घाटन गर्नुभयो ।
ठूलो लगानीमा सुरु भएको होटलको उद्घाटन गर्दै मन्त्री लिङ्थेपले पर्यटन क्षेत्रको विकाससँगै गुणस्तरीय सेवा र व्यवस्थित व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले कुनै पनि पर्यटन व्यवसायको दीर्घकालीन सफलताका लागि सेवा, सरसफाई, आतिथ्यता र व्यवस्थापन पक्षलाई निरन्तर सुधार गर्दै लैजान आवश्यक रहेको बताउनुभयो।
हालसम्म २ करोड ३५ लाख रुपियाँ खर्च भइसकेको होटलमा एकै पटक एकसय पचास पाहुनालाई राख्न सकिनेछ। होटल सञ्चालक पिटर खालिङले भन्नुभयो –‘ कठिन समयमा ठूलो लगानीमा होटल सुरु गरेको छु । यो ग्रामीण क्षेत्र भएपनि सम्भावना भएको ठाउँ हो । उहाँले स्थानीय उत्पादनले मूल्य पाउने ,रोजगार सिर्जना हुने र उत्तरी मोरङको बसाई सराईको दर घट्ने बताउनु भयो । होटल पूर्ण रुमिा सञ्चालन भएपछि ६० जनाले प्रत्यक्ष रोजगार पाउने खालिङको भनाई छ । खालिङका अनुसार पूर्वाञ्चल भ्यु रिसोर्टमा आधुनिक स्विमिङ पुल, आरामदायी आवास, स्वादिष्ट खानाको व्यवस्था, बार्बिक्यु सेवा तथा विभिन्न सभा, गोष्ठी, पारिवारिक भेटघाट, जन्मोत्सव, विवाह तथा अन्य कार्यक्रम सञ्चालन गर्न मिल्ने सुविधा सम्पन्न हलको व्यवस्था गरिएको छ। तराईमा गर्मी हुँदा लेटाङ ६ को गुवाबारी क्षेत्रमा शितल हुन्छ । एकातिर गुवाबारी पहाडी भागमा पर्छ भने अर्को तर्फ भ्यूटावर पनि बनेकोले त्यहाँबाट तराईको दृष्य हेर्न आन्तरिक पर्यटक पनि लेटाङ पुग्ने सम्भावना रहेको छ ।






