हरिप्रसाद कोइराला
पथरीशनश्चिरे । मोरङको पथरीशनिश्चरे–६ का पूर्व वडाध्यक्ष जयबहादुर तामाङ यतिबेला राजनीतिसँगै सिउँडी फलको ब्यावसायिक उत्पादनमा लाग्नु भएको छ ।
पाँच वर्ष यता उहाँ राजनीतिक कार्यक्रम,सभा,समारोहमा भन्दा आफ्नै खेतबारीमा भेटिनु हुन्छ । खाद्य बालि भन्दा फलफुल खेतीमा दोब्बर आर्थिक लाभ हुने भएपछि उहाँले धान खेत मासेर सिउँडी प्रजातिको फल (ड्रयागन फ्रुट) लगाउनु भएको छ । सिउँडी फललले धान,तोरी र मकैको भन्दा तीन गुणा बढी आम्दानी दिने रहेछ । तीन बिघाको आम्दानी १० कट्ठाबाट प्राप्त भएपछि उहाँले अलि गहिरो खेत बाहेक अरु सबै साडे तीन बिघामा सिउँडी फल लगाउनु भएको छ ।
अहिले दक्षिण मोरङको पथरीशनिश्चरे ६ र सुनवर्सी १ का ७ जना किसानले १८ विघा जग्गामा ड्रयागन खेती गरिरहनु भएको छ । हाल साडे तीन बिघा धान खेत खेत मासेर ड्रयागन लगाउनु भएका तामाङले वार्षिक ३० लाख रुपियाँको फल बजार पठाइरहनु भएको छ । पाँच वर्ष अघिसम्म प्रति किलो ६ सय रुपियाँमा बिक्री भएको ड्रयागन फ्रुट यो वर्ष अधिकतम ३ सय ५० रुपियाँमा बिक्री भयो ।अझ तामाङको फर्ममा पुग्नेले रु.२५० सम्ममा खरिद गर्न सक्छन् ।उत्पादन बढेपछि मूल्य घट्यो तर,किसानलाई घाटा छैन् । तामाङले बिदेशबाट आउने फललाई बिस्थापित गर्न उत्पादन अझै बढाउनु पर्ने बताउनु भयो ।
तामाङले हालसम्म खेतीमा एक करोड ९० लाख लगानी गरिसक्नु भएको छ । १० जनाले रोजगार पाइरहेको उहाँको पूर्वाञ्चल मल्टिपल एग्रिकल्चर प्रालि अहिले ड्रयागन फलको स्रोत केन्द्रका रुपमा बिकसित भइरहेको छ । सुरुमा एउटा जातको मात्र बिरुवा लगाउनु भएका तामाङले हाल पाँच जात बिरुवा लगाउनु भएको छ । जात अनुसार स्वाद पनि फरक छ । उपभोक्ताले रोजाई अनुसारको स्वादमा फल खान पाउनु हुन्छ । त्यसैले नयाँ नयाँ जातको खोजिमा छु । तामाङले भन्नुभयो–‘औषत नेपालीले चाडवाड र विरामी पर्दा मात्र फलफुल खान्छन् । हामी सँधै खान सक्ने मूल्यमा उत्पादन गर्नुपर्छ भनेर लागि रहेका छौं ।’उहाँले यो वर्ष साना दाना एक सय रुपियाँ किलो सम्ममा बिक्री गरेको जानकारी दिनुभयो ।
सुनवर्सी १ का गणेश तुर्छा राईले ६ वर्ष अघि दुईबाली धान फल्ने साडे ३ बिघा खेतमा ड्रयागन खेती सुरु गर्नुभयो । कोरोनाले निर्माण ब्यावसाय थलिएपछि कृषि कर्ममा सम्भावना खोज्न ड्रयागन खेतीमा होमिनु भएका राई यतिबेला ड्रयागन खेतीको बिस्तार,प्रसोधन र नयाँ ब्यापारिक बजारको खोजिमा हुनुहुन्छ ।वार्षिक ५० लाख रुपियाँ आम्दानी गर्ने महत्वकांक्षी लक्ष्यका साथ ड्रयागन खेतीमा लाग्नु भएका राईले दुई करोड रुपियाँ लगानी गरिसक्नु भएको छ । उहाँले भन्नुभयो–दुई सिजन उत्पादन लिँदा ४० प्रतिशत खर्च उठिसकेको छ । २०÷२५ वर्षसम्म आम्दानी लिन सकिने भएकोले लगानी खेर जान्छ भन्ने लागेको छैन् । अझ बढी उत्पादन लिन राईले बिरुवामा राति समेत विद्युतीय उर्जा दिइरहनु भएको छ । चिसो मौसममा तापक्रम कम हुँदा उत्पादनमा असर पर्ने बुझेपछि राईले बिरुवाको बिचमा विजुली बालेर छोडिदिनु भएको हो । यतिबेला तापक्रम बढी हुँदा चाँडो पाक्ने समस्या छ । पछि तापक्रम पुग्दैनन । सिउँडी फललाई तापक्रम ब्यवस्थापन गर्न चुनौति रहेको राईको भनाई छ ।
नेपालमा तेस्रो देशबाट स्याउ र सुन्तोलाको कार्टुनमा सिउँडी फल आउन थालेको बताउँदै जयबहादुर तामाङले भन्नुभयो –‘ नेपालको उत्पादनले नेपाली माग पुरा गरिरहेको छ ।’ तर, पनि ड्रयागन आयात नरोकिएको तामाङको भनाई छ ।उहाँले नेपालबाट निर्यात गर्न पनि सकिन्छ । तर, नेपाली उत्पादनलाई अनेकन बाधा र समस्या देखाएर रोक्ने गरिन्छ । उहाँले सरकारले नेपाली किसानलाई सहयोग नगरेको आरोप लगाउनु भयो । भण्डारण ब्यवस्थित गर्न सके ३ महिनासम्म सुरक्षित रहने भएकोले ड्रयागन उत्पादन गर्ने किसानले आत्तिनु पर्ने अवस्था नरहेको गणेशले बताउनु भयो ।
तामाङ र राईले ड्रयागनको ब्यावसायिक खेती सुरु गर्नु भएपछि अहिले उहाँका छिमेकीहरू पनि तामाङ र राईको लयलाई पछ्याइरहनु भएको छ । ड्रयागन खेती ब्यावसायि सङ्घ कोशी प्रदेशका अध्यक्ष समेत रहनु भएका तामाङका अनुसार पथरीशनिश्चरे र सुनवर्सीमा मात्र १८ बिघामा जग्गामा ड्रयागन खेती भइरहेको छ। ड्रयागन खेती सुरु भएपछि गाउँमा दुई सय बढीले रोजगार पाएका छन् । अझ विगतमा तरकारी डुलाएर बेच्नेहरू अचेल तरकारीसँगै ड्रयागन पनि गाउँ गाउँ डुलाएर बेच्न थालेका छन् । तरकारी भन्दा ड्रयागन बढी बिक्छ, पथरीशनिश्चरे ६ का श्याम मण्डलले भन्नुभयो ।






