Latest Post

हरिप्रसाद कोइराला
कानेपोखरी । खोटाङको दिक्तेलबाट १९ वर्षको उमेरमा बैदेशिक रोजगारमा दुवई जानु भएका रामकुमार दाहाल यतिबेला अब विदेश नजाने भन्दै केराको दाम्चाबाट रेसा निकालेर गाउँमै खाडीको कमाई खोजिरहनु भएको छ ।
बैदेशिक रोजगारमा १६ वर्ष दुवई ,कतार र इराकमा काम गर्नु भएका दाहाल अहिले ३६ वर्षको हुनुभयो । २०८१ को दशैंमा घर फर्केपछि स्वदेश मै केही उद्यम गर्ने मनसायले उहाँ खेर गएका केराका थामबाट रेसा निकाल्ने उद्यममा लाग्नु भएको छ । विदेशको कमाईले मोरङको कानेपोखरी –७ चालिस विघेमा आठ कट्ठा घरखेत जोड्नु भएका दाहाल अहिले सोही स्थानमा केराको दाम्चाबाट रेसा(धागो) निकालेर बिक्री गरिरहनु भएको छ । उहाँले शारदा धागो लघु उद्योग दर्ता गर्नु भएको छ । तीन लाख खर्च गरेर किनेको मेसिनले अढाईलाख रुपियाँको धागो उत्पादन गरिसकेको छ ।
गाउँमा वरिपरि सय बिघा भन्दा बढी जग्गामा केरा खेती हुने गरेको छ । त्यहीँबाट थाम ल्याएर धागो निकालिरहनु भएका दाहालले हाल आफैं एक विघा जग्गा लिजमा लिएर केरा खेती लगाउनु भएको छ । आफ्नै कच्चा पदार्थबाट धागो निकाल्न सहज होला भनेर केरा खेती पनि सुर गरको हुँ, दाहालले भन्नुभयो ।
थाम ल्याएर दाम्चा निकाल्दै मेसिनमा हाल्नु पर्छ । त्यसपछि घाममा सुकाउनु पर्छ । दाहालका अनुसार रेसाको बजार मुल्य प्रति केजी १५० रुपियाँ छ । २०८१ को माघ देखि हालसम्म १७ सय किलो रेसा बिक्री गरिसकेको दाहालले जानकारी दिनुभयो ।
सुरुका दिनमा दुई जना कामदार राखेर रेसा निकाल्नु भएका दाहालले मौसम प्रतिकुल भएपछि परिवारका सदस्यले मात्र काम गरिरहेको बताउनु भयो ।उहाँले भन्नुभयो– घाममा मज्जाले नसुकाए कुहिन सक्छ । मौसम अनुकुल भएपछि कामदार राखेर नेपाली कागज र कम्पोष्ट मल उत्पादन गर्ने तयारी गरिरहेको छु । १८ महिनाको अनुभवले महिनाको ४०÷४५ हजार रुपियाँ कमाउन बिदेश गइरहनु नपर्ने रहेछ ,भन्नेमा पुगेको छु ।रेशा निकाल्ने उद्योगसँगै नेपाली कागज बनाउने उद्योग सञ्चालन गर्न उहाँले थप साडे १३ लाख रुपियाँ लगानी गरिसक्नु भएको छ ।
एउटा नचले अर्को उद्योग चल्न सक्छ भनेर दुईतिर लगानी गरेको रामकुमारको भनाई छ । त्यसो त पासपोर्ट थन्क्याएर स्वदेश मै उद्यम गर्ने सपना देखिरहनु भएका दाहालले ८÷१० माउ बाख्रा, कुखुरा समेत पाल्नु भएको छ । घर अगाडि सानो फ्रेस हाउस समेत सञ्चालन गरिरहनु भएका दाहालले भन्नुभयो – एउटै काम गर्दा लगानी पनि डुब्ने र घाटा पनि हुने देखियो । उहाँले पाँच कट्ठामा सुपारी लगाउनु भएको छ । सुपारीको खपटाबाट थाली बनाउने उद्योग सञ्चालनका लागि उहाँले अहिले देखि नै पूर्व तयारी गरिरहनु भएको छ । तर, काम गर्ने कामदार नपाउँदा उहाँलाई फेरि खाडी तिर गइहाल्नु जस्तो हुन्छ । यद्यपि २०÷२२ लाख रुपियाँ लगानी भइसकेकोले उहाँ चौविस घण्टा आफैं खटेर काम गरिरहनु भएको छ ।