Latest Post

बेलबारी। मोरङमा मानव हात्ती बिचको द्वन्द्व बढ्दै गएको छ । बेलबारीमा आइतबार बिहान जङ्गली हात्तीको आक्रमणबाट एक महिला भएसँगै यो आवमा मात्र हात्तीको आक्रमणबाट मर्नेको सङ्ख्या मोरङमा पाँच पुुगेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालका अनुसार बेलबारी –८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो । उहाँका अनुसार अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी आफ्नै घरनजिकको खेतमा पानी लगाउन गएका बेला बिहानका राति ३ बजेतिर हात्तीले अमिनालाई आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते हुनु भएकी अमिनालाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल पठाइएको थियो । उपचारका क्रममा बिहान ८ः४० मा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वडा नं. ८ को बाँसबारी पूर्वपश्चिम राजमार्गबाट दक्षिणको गाउँ हो । राजमार्ग दक्षिण तर्फ डेढ किलोमिटर मात्र जङ्गल पर्छ । जङ्गलबाट गाउँ पसेर अमिनालाई हात्तीले आक्रमण गरेपछि स्थानीय त्रसित भएका छन् । स्थानीयका अनुसार पूर्व पश्चिम राजमार्गको मोरङ खण्डमा पर्ने जङ्गल क्षेत्रमा केही दिन यता जङ्गली हात्ती घुमिरहेका छन् ।