
रौतहट प्रहरीले बालकको हत्यामा संलग्न चार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ परेका नागेन्द्र सहनी, साधु भनिने अर्को नागेन्द्र सहनी, विकास पटेल र अनिल साहलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। वृन्दावन नगरपालिका–७ का १४ वर्षीय कृष्णप्रसाद यादवलाई टिकटिक बनाउने भन्दै चाँदी खोलामा लगेर गोली हानी हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ। घटनामा प्रयोग गरिएको पेस्तोल दुर्गाभगवती गाउँपालिका–५ मा लुकाइएको अवस्थामा फेला परेको छ भने भारतीय नम्बरको मोटरसाइकल पनि टुक्रा पारिएको अवस्थामा भेटिएको छ। पक्राउ परेकाहरूमाथि जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको र अन्य संलग्न व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।






