कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले लिएको कक्षा –५ को परीक्षामा सरकारी विद्यालयका १० प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाको शिक्षा शाखाले दिएको तथ्याङ्क अनुसार पालिका रहेका ३५ वटा विद्यालयले प्राथमिक तहको परीक्षमा ८५८ जना विद्यार्थी सहभागी गराएका थिए ।
१९ वटा सरकारी विद्यालयबाट ४०१ विद्यार्थी सहभागी भएकोमा ४२ जना मात्र उत्तीर्ण भएका छन् ।सरकारी विद्यालयका ३५९ जना विद्यार्थी अनुतीर्ण भएका छन् । सरकारी विद्यालयका १० दशमलव ४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नीजि विद्यालयबाट ४५७ जना सहभागी भएकोमा ४२८ जना उत्तीर्ण भएका छन् ।नीजि विद्यालय तर्फ ९३ दशमलव ६५ प्तिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस्तै कक्षा ८ को परीक्षामा कुल ६३ दशमलव ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सरकारी विद्यालय तर्फ आधा भन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । १३ वटा सरकारी विद्यालयबाट ४४२ जना विद्यार्थी सहभागी भएकोमा १९९ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । नीजि तर्फबाट २७३ जना विद्यार्थी परीक्षामा सामेल हुँदा २३२ जना विद्यार्थी उत्तीर्ण भए । सरकारी विद्यालयले ४५ दशमलव २ प्रतिशत विद्यार्थी उत्तीर्ण गर्दा नीजि तर्फको परीक्षाफल ९७ दशमलव ८९ प्रतिशत रह्यो । कानेपोखरीमा १० वटा नीजि विद्यालयले कक्षा ८ को परीक्षा दिलाएका थिए ।
कक्षा ५ को परीक्षामा सरकारी तर्फका नौ वटा विद्यालयको परीक्षाफल शुन्य प्रतिशत रह्यो । त्यस्तै नीजि नौ वटा विद्यालयको परीक्षाफल शतप्रतिशत रहेको छ ।






